उपत्यकामा विद्यार्थीको चुनाव : कतै रौनक, कतै स्थगित
त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन जारी छ । त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ४८ र सामुदायिक क्याम्पसमा निर्वाचन भैरहेको हो ।
त्रिवि केन्द्रीय क्याम्पससहित काठमाडौं उपत्यकाका १५ क्याम्पसमा अहिले मतदान जारी छ । विद्यार्थी संगठनहरुको विवादले ११ वटा क्याम्पसको निर्वाचन भने रद्द भएको छ ।
कोटेश्वर बहुमुखी क्याम्पस, नेपाल कमर्श क्याम्पस, बानेश्वर बहुमुखी क्याम्पस र ग्रामिण आदर्श क्याम्पसमा तालाबन्दीका कारण अन्तिम समयमा निर्वाचन स्थगित भएको हो । त्यस्तै, त्रिचन्द्र क्याम्पस, पाटन बहुमुखी क्याम्पस, पशुपति क्याम्पस, आयुर्वेदिक क्याम्पस, विश्वभाषा, रत्नराज्यलक्ष्मी (आरआर) र बाल्मिकी क्याम्पसमा मनोनयन दर्ता नै हुन सकेन ।
यता, उपत्यकाका चार क्याम्पसमा भने सभापतिसहित सबै पदमा निर्विरोध भएको छ । बौद्ध बहुमुखी क्याम्पस, कान्तिपुर कलेज थली, सहयोगी बहुमुखी महाविद्यालय गोकर्ण र कैलाशकुट कलेजमा सबै पदमा निर्विरोध भएको हो ।
उपत्यकाका ठूला क्याम्पसहरुमा उम्मेदवार र उम्मेदवारका समर्थक विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर आफ्नो पक्षमा मत मागिरहेका छन् । त्रिवि केन्द्रीय क्याम्पसमा बिहान केही ढिलागरी शुरु भएको मतदान प्रक्रिया अहिले शान्तिपूर्ण ढंगले चलिरहेको छ । प्रदर्शनीमार्गस्थित शंखरदेव क्याम्पसमा पनि मतदान भइरहेको छ । त्यस्तै, नजिकैको नेपाल ल क्याम्पसमा पनि मतदान जारी छ ।
बिहान ८ बजेदेखि सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चल्नेछ ।
टिप्पणीहरू