प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सामेल हुने कांग्रेसको निर्णय

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेको नेपाली काँग्रेस अन्तत: सरकारमा जाने भएको छ । आज बसेको काँग्रेस कार्यसम्पादन समितिको बैठकले सरकारमा जाने र प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । 

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत फिर्ता लिँदै सरकार छोडेपछि प्रधानमन्त्रीले केहीदिनमै विश्वासको मत लिने तयारी गर्नुभएको छ । त्यससम्बन्धमा पार्टीको औपचारिक धारणा तय गर्न बसेको काँग्रेस बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । 

बैठकले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार आज बस्ने प्रतिनिधिसभा बैठकमा कांग्रेसले प्रतिपक्षी बेञ्च एमालेलाई छाड्ने पनि बैठकको निर्णय छ । 

यसअघि पुस २६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिँदा कांग्रेसले पक्षमा मतदान गरेको थियो । त्यतिबेला प्रधानमन्त्री प्रचण्डलाई एमालेसहित सात दलीय गठबन्धनको समर्थन थियो । तर, राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने माओवादी केन्द्रको निर्णयपछि एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार छोडेका थिए ।
 

टिप्पणीहरू