कोशी विरोधीहरुको आन्दोलन उग्र हुने, कागजातमा लेखिएको कोशी मेट्न आग्रह

कोशी विरोधीहरुको आन्दोलन उग्र हुने, कागजातमा लेखिएको कोशी मेट्न आग्रह

प्रदेशको नाम कोशी नामकरण गरिएकोमा आन्दोलनरत पक्षले विरोध कार्यक्रमलाई आगामी दिनमा थप चर्काउने भएको छ । उनीहरुले पहिचानसहितको नाम राख्नुपर्ने माग गर्दै आएका छन् ।

प्रदेश नम्बर १ को पूनः नामाङ्कन संयुक्त सर्घष समितिले आन्दोलनका नयाँ कार्यक्रमहरु सार्वजनिक गरेको छ । जसअनुसार आगामी दुई साता गाउँ÷सहर जागरण मार्च अभियान भनिएको छ । भोलि ताप्लेजुङ, पर्सि पाँचथर, १३ गते झापा र त्यसपछि सुनसरीमा अभियानको कार्यक्रम राखिएको छ ।

१४ वटै जिल्लामा सभा र क्षेत्रीय सभाहरु राखिएको छ । काठमाडौँमा मोटरसाइकल जुलुससहित सभा गर्ने बताइएको छ । उनीहरुले राजनीतिक दल, थातथलो खुलेका र नखुलेका आदिवासी जनजातिलगायत समुदाय र प्रदेश १ का जनतासँग समन्वय र छलफल गर्ने कार्यक्रम राखिएको छ ।

आन्दोलनकारीले प्रदेश नम्बर १ का सरकारी निकाय, व्यवसायी (होटल, रेस्टुरेन्ट, विद्यालय, क्याम्पस, सवारी साधन), गैरसरकारी संस्था सबैले लेटरप्याड, बोर्डमा कोशी प्रदेश नलेख्न र लेखिएको भए मेट्न अनुरोधपत्र वा विज्ञप्ति पठाउने भनिएको छ ।  

उनीहरुले पूर्व घोषित कार्यक्रमहरुको निरन्तरता दिने जनाएका छन् । पूर्व घोषित कार्यक्रममा तालाबन्दी र कालो झण्डा गाड्ने, कोशी बोर्ड नलेख्ने र लेखिएका लेटरप्याडको प्रयोगमा प्रतिबन्ध लगाइने छ ।

कोशी प्रस्तावमा मत हालेका ८२ प्रदेश सांसदलाई बहिष्कार गर्ने, प्रदेशको नाम कोशी खारेजी सम्बन्धी साहित्यिक र सांस्कृतिक कार्यक्रम गर्ने र पछि अनिश्चितकालीन आमहड्ताल गर्ने कार्यक्रम यसअघि नै सार्वजनिक गरिएको छ ।

टिप्पणीहरू