स्थगित क्याम्पसमा तत्काल निर्वाचन गराउन एमाले विद्यार्थीको माग

स्थगित क्याम्पसमा तत्काल निर्वाचन गराउन एमाले विद्यार्थीको माग

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचन स्थगित भएका क्याम्पसमा तत्काल पुनः निर्वाचन गराउन माग गरेको छ । चैत ५ गते विभिन्न कारणबाट निर्वाचन बिथोलिएपछि अनेरास्ववियुले तत्काल पुनः मतदान गराउन माग गरेको हो । 

आज त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको संयोजकमार्फत त्रिवि प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाउँदै अनेरास्ववियुले बाँकी क्याम्पसमा निर्वाचन सम्पन्न गर्न पहल गरिदिन आग्रह गरेको छ । 

१७ वटा आंगिक क्याम्पसमा निर्वाचन रोकिएको उल्लेख गर्दै अनेरास्ववियुले तत्काल सर्वदलीय बैठक बोलाएर निर्वाचनको प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएको छ । 

‘निर्वाचन हुन बाँकी १७ वटै क्याम्पसहरुको निर्वाचन सम्पन्न गर्न सर्वपक्षीय बैठक बोलाएर निर्वाचन कार्यतालिका प्रकाशित गरी निर्वाचन सम्पन्न गर्न अग्रसरता लिई दिनुहुन विश्वविद्यालयका शिक्षाध्यक्ष, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजकमार्फत हामी विश्वविद्यालय प्रशासनलाई ध्यानाकर्षण गराउन चाहन्छौं’, पत्रमा उल्लेख छ । 

त्यस्तै, अनेरास्ववियुले तोकिएको समयमा निर्वाचन सम्पन्न हुन नसक्नु अत्यन्तै दुःखद विषय भएको बताएको छ । निर्वाचन अधिकृतहरुको गैरजिम्मेवारपूर्ण रवैया, सरकारको सुरक्षा लापरवाही र विद्यार्थी संगठनहरुको तालाबन्दीको कारण निर्वाचन प्रक्रियामा अवरोध सिर्जना भएको उसको ठहर छ ।
 

टिप्पणीहरू