कोशी प्रदेशमा भएका असंवैधानिक गतिविधि रोक्न ठूला दलको माग

कोशी प्रदेशमा भएका असंवैधानिक गतिविधि रोक्न ठूला दलको माग

कोशी प्रदेशका राजनीतिक दलहरुले कोशी प्रदेश नामकरणको विषयलाई लिएर भइरहेका असवैंधानिक गतिविधि तत्काल रोक्न सरकारसमक्ष माग गरेका छन् । नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने, नेपाली काँग्रेस प्रदेश सभापति उद्धव थापा, नेकपा माओवादी केन्द्र प्रदेश सचिव गणेश उप्रेती र राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेश कमिटी अध्यक्ष राम थापाले आज संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । 

उनीहरुले कोशी प्रदेश नामकरणका विषयलाई लिएर भइरहेका सामाजिक सद्भावमा खलल पुग्ने तथा असंवैधानिक गतिविधि तत्काल बन्द गर्न आग्रह गरेका छन् । साथै शान्तिपूर्ण ढंगबाट आफ्ना मत र मुद्दालाई स्थापित गर्न तथा संवाद, वार्ता र छलफलको माध्यमबाट समस्याको समाधान गर्नुपर्ने बताएका छन् ।

प्रदेश नामकरणको विषय कुनै दल विशेषको नभएर सार्वभौम जनताबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको आफ्नो प्रदेशको नामकरण आफैँ गर्न पाउने संवैधानिक अधिकार रहेको उनीहरुको ठहर छ । सोही संवैधानिक अधिकारको प्रयोग गर्दै नेपालको संविधानको धारा २९५ (२) अनुसार तत्कालिन प्रदेश नम्बर १ को नामकरण ‘कोशी प्रदेश’ भएको विज्ञप्तिमा उल्लेख छ ।

‘यसरी वृहत सहमतिका साथ प्रदेश सभाको नामाकरण गर्न सफल  भएकोमा प्रदेश सभाका सदस्यहरुलाई हार्दिक धन्यवाद तथा बधाई व्यक्त गर्दै सार्वभौम सम्पन्न प्रदेश सभाको भारी बहुमतबाट भएको प्रदेशको नामकरणको निर्णयलाई शिरोधार्य गर्न आम प्रदेशबासीमा हार्दिक अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रदेशको नामप्रति प्रदेशबासीहरुको आमचासो र सरोकार हुँदाहुँदै पनि विगत पाँच वर्षको अवधिमा प्रदेश नामकरणको विषयमा दलहरुबीच भएका बैठक, छलफल, बहसलगायतका विभिन्न प्रयासहरु निष्कर्षविहीन भएकोमा उनीहरुको एउटै मत छ । ‘एउटा साझा निष्कर्षमा पुग्न नसक्दा तत्कालिन प्रदेश नं. १ नामविहीन हुनु परेको पीडा प्रदेशबासी हुनुको नाताले हामी सबैले महसुस गरेकै हौं,’ अगाडि लेखिएको छ, ‘समयमा नामकरण नभएकै कारणले नेपाली जनताको सात दशकभन्दा लामो संघर्षबाट प्राप्त नेपालको आफ्नै मौलिक प्रकृतिको संघीय शासन व्यवस्थाप्रति नै विभिन्न कोणबाट प्रश्नहरु उठ्न थालेका थिए ।’

सबैको चाहना, चासो, अपेक्षा र जिज्ञासालाई मध्यनजर गर्दै गत मंसिर ४ गते सम्पन्न प्रदेश सभाको निर्वाचनको जनादेशको आधारमा तत्कालिन प्रदेश नम्बर १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरु, दलका नेता तथा प्रदेश सभा सदस्यहरुको अथक प्रयासबाट बृहत्तर सहमतिका साथ प्रदेशको नामाकरण भएको उनीहरुको भनाइ छ ।

टिप्पणीहरू