सिरहामा भोज विवाद बढेपछि एमाले अध्यक्ष अन्य जिल्लामा

सिरहामा भोज विवाद बढेपछि एमाले अध्यक्ष अन्य जिल्लामा -सन्तोष बराइली

सिराहाको भगवानपुर गाउँपालिकामा आयोजना गर्न लागिएको बालासुन्दरी भगवती पूजा महोत्सव उद्घाटन कार्यक्रममा सहभागी हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्धारित कार्यक्रम रद्द भएको छ । भगवानपुर गाउँपालिका प्रमुख उग्रनारायण यादवकी आमाको १३ औँ दिनको पुण्य तिथिमा आयोजित शुद्वि भोजमा दलितहरूमाथि विभेद गरिएको भन्दै विवाद उत्पन्न भएपछि अध्यक्ष ओलीको सिराहा आउने निर्धारित कार्यक्रम रद्द भएको बताइएको छ । 

महोत्सव उद्घाटनका लागि ओली गत बुधबार सिराहा आउने कार्यक्रम थियो । एमाले सिराहाका सचिवसमेत रहेका उक्त गाउँपालिका प्रमुख यादवले भने, ‘भोज विवादले महोत्सव आयोजना प्रभावित भयो । त्यसैले एमाले अध्यक्ष आउने कार्यक्रम पनि रद्द भयो ।’          

भोज विवादको चुरो 

भगवानपुर गाउँपालिकामा दलित समुदायको बाहुल्यता ४० प्रतिशत छ । सदा, राम, पासवान, खत्वे, डोम जातिका दलित समुदायको अधिक संख्या रहेको भगवानपुर गाउँपालिका सिरहा सदरमुकामबाट ३० किलोमीटर पूर्वमा पर्छ । सिराहाको प्रमुख व्यापारिक नाका लाहानबाट १३ किलोमीटर दक्षिणमा रहेको भगवानपुर गाउँपालिका भारतको लौकाहा बजारसँग जोडिएको छ । 

गाउँपालिका प्रमुख यादवकी स्वर्गीय आमा राम सतिदेवीको १३ औँ दिनको पुण्यतिथिको शुद्वि भोजमा सिराहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकुनन्द ईवा लिम्बू, सशस्त्र प्रहरी प्रमुख एसपी प्रमोद भारती, अनुसन्धान विभागका एसपी नरेश शाह, इलाका प्रहरी कार्यालय लाहानका प्रमुख डिएसपी भोला भट्टदेखि पूर्वमन्त्रीसम्म सहभागी थिए । सांसद लिला श्रेष्ठ, पूर्व एमाले सांसद रामरति राम, प्रदेश सांसदहरू, विभिन्न राजनीतिक दलका नेता, सिरहा र सप्तरीका स्थानीय तहका प्रमुख÷उपप्रमुखलगायत चार हजार बढी स्थानीयको सहभागिता रहेको बताइन्छ । सतिदेवीको ९५ वर्षको उमेरमा निधन भएको हो ।

भोज धुमधाम भएकोमा गाउँपालिका प्रमुख यादवलाई धेरैले बधाई समेत दिएका थिए । तर भोलिपल्ट मिडियामा गाउँपालिका प्रमुखले आमाको भोजमा दलितहरूलाई विभेद गरेको र छुवाछुतलाई संस्थागत गरेको आरोप लागेको समाचार प्रकाशित भएपछि जिल्लाभर तरंग उत्पन्न भएको हो । सामाजिक सञ्जालमा यसबारे व्यापक आलोचना हुन थाल्यो । 

सिराहाको एक दलितकेन्द्रित गैरसरकारी संस्थाले गोलबजारमा उक्त कार्यविरूद्व प्रदर्शन नै गर्यो । दलित आयोगका प्रतिनिधिले स्थलगत अनुसन्धान गर्दै प्रहरी प्रशासनलाई जाहेरी दर्ता गरेर कारबाही अघि बढाउन निर्देशन समेत दिएको थियो । तर भगवानपुरका दलित अगुवाहरूले उक्त भोजमा आफूहरुलाई विभेद गरिएको भन्ने हल्ला निराधार रहेको बताए । 

भगवानपुरको आधारभूत विद्यालय जमुना टोलका प्रधानाध्यापक दलित खत्वे जातिका श्रीलाल खङ् मण्डल भन्छन्, ‘शुद्वि भोजमा खानेकुरा बाँड्नेदेखि पानी वितरण गर्ने पनि हाम्रै दलित समुदायका थिए । भोजको अघिल्लो रात तरकारी केलाउने पनि दलित समुदायका महिला थिए । सबै जातकाले सरोबरी बसेर भोज खाएका थिए । भोजमा जातीय विभेद भएको प्रचार गर्नु दुःखको कुरो हो ।’

मण्डललगायतले विभेद नभएको दाबी गर्दै आएका छन् । गोलबजार नगरपालिकाको एउटा एनजीओले मासुभात खुवाएर जनही पाँच सय भत्ता दिएर प्रदर्शन गराएको मण्डलको भनाइ छ । उनले अगाडि थपे, ‘उक्त भोजमा तथाकथित जातीय विभेदको विवाद श्रृजना गरेर केही एनजीओले डलरको खेती गर्न खोजेका छन् । केहीले उग्रनारायणको राजनीतिक भविष्य बर्बाद बनाउन खोजेका छन् । यसप्रति हामी सचेत छौँ ।’

यद्यपि गत फागुन २२ गते आयोजित भोजमा विभिन्न जाति र समुदायलाई प्लेकार्डमै उल्लेख गरेर बस्ने ठाउँ तोकिएको सहभागीहरु बताउँछन् । तर तस्बिरहरूमा दलित र गैर दलित समुदायका मानिसहरुसँगै बसेर भोज खाइरहेका देखिन्छन् । एउटा तस्बिरमा पूर्वमन्त्री तथा सांसद लिला श्रेष्ठ र पूर्व सांसद रामरती राम र वर्तमान सांसद सम्झना पोखरेलले सँगै बसेर भोज खाएका हुन् । 

भोजमा सहभागी सिरहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द ईवा लिम्बू भन्छन्  ‘भोजमा जातीय विभेद भयो भनेर जाहेरी दर्ता गर्न धनगढीमाई नगरपालिकाबाट एकजना आउनुभएको थियो । मैले त्यो भोजमा तपाईं सहभागी हुनुहुन्थ्यो भनेर सोध्दा थिइन भनेर जवाफ दिए, यस्तोमा मैले कसरी जाहेरी दर्ता गर्ने ?’ भोजमा जातीय विभेद प्रमाणित भएमा कानुनी कारबाहीको दायरामा ल्याइनेमा ढुक्क हुन एसपी लिम्बूले आग्रह गरे ।                        

बदनाम गर्ने षडयन्त्र गरियो : उग्रनारायण यादव  

गाउँपालिका प्रमुख उग्रनारायण यादव आमाको १३ औँ दिनको पुण्यतिथिमा आयोजित शुद्धिकरण भोजमा दलित समुदायमाथि विभेद गरेको समाचार सरासर गलत भएको दाबी गर्छन् । उग्रनारायणले भने, ‘म दलितको नेता हो । दलित समुदायकै घरमा खाएर, बसेर राजनीति गरेको हुँ । दलित हक अधिकारको निम्ति धेरै पटक लडेको छु । विद्युत जडानदेखि मूर्ति सद्गद्मा गरिँदै आएको जातीय विभेदविरूद्व लड्ने मै हुँ ।’

उनले आफूलाई  जनप्रतिनिधि बनाउने कार्यमा निर्णायक मत दलितको रहेको दाबी गरेका छन् । यस्तो अवस्थामा आफूले दलितलाई विभेद गरेको भन्नु बेतुक रहेको उनको भनाइ छ । आफ्नो चरित्र हत्या गरेर राजनीतिक भविष्य समाप्त पार्न षड्यन्त्र गरिएको बताउँदै यादव भन्छन्, ‘भगवानपुरका मेरा प्रिय दलित समुदायले आमाको शुद्वि भोजमा मात्रै होइन, कहिँकतै विभेद गरेको पुष्टि गरे म सेरिन तयार छु ।’

-सन्तोष बराइली

टिप्पणीहरू