इन्दु दिदीको इतिहास सुनेपछि प्रफुल्लित
सूर्य सँधै उदाउँछ । तर, हरेक दिन किन भिन्नै लाग्छ ? घामको किरण शरीरमा स्पर्श हुँदा नयाँ बिहानी जताततै छरिन्छ । जसलाई हामी दिन्छौँ– सयौं कथा–कहानीको उपनाम । विद्यालयको पुस्तकमा हामीले ‘भोलिवाद’ पढेका थियौं । नेपाली साहित्य जगतका प्रसिद्ध हास्यव्यङ्ग्यकार भैरव अर्यालले घतलाग्दो व्याख्या गरेका छन् । उनले भनेका छन्,‘कति सजिलो छ है, हरेक कार्य भोलिलाई टार्न ?’ भोलिले धेरै कुरालाई समेट्छ । भोलि शब्दले कसैलाई बिझाउँछ त कसैलाई राहत दिन्छ ।
सुन्दर फूलमा पनि धारिलो काँडा हुन्छ । दुनियाँलाई मनपर्ने हरेक फूल काँडा वा हिलोमै फूल्छ । मेरो दैनिकी पनि अक्सर यसरी नै चल्छ । सबैले भन्छन्, ‘म निकैबेर सोच्छु । सानो कुरामा घण्टौंसम्म दिमाग लगाउँछु । भएभरको दिमाग ईश्वरले मेरै खप्परमा राख्दिएजस्तो ? के बाँकी मानिसहरूको टाउकोमा खोष्टा मात्र छ ?’ मानव जीवन एउटा ‘रमाइलो–यात्रा’ हो । यात्राको अनुभूति बेग्लै हुन्छ । हिँड्दा–हिँड्दै पोखिन्छन्, अनुभव । जोतिन्छन्, भावना । दैनिकीले घनचक्कर लगाउँछ, कहिले शिखर चुम्छ, कहिले नमज्जाले भूईंमा पछारिन्छ । बगिरहेको जीवन कताकति रोकिन्छ । लेख्न खोज्दा कथाहरू दिमागमा आँउदैनन् । बोल्न खोज्दा बोली फुट्दैन । सोच्छु– म अल्छी भएँ कि मेरा हात औंलाहरु ।
बढ्दो उमेरमाथि हामीहरु अनेकौँ आरोप लगाउँछौं । विचरा, उमेरको के दोष ? ढल्केको ढल्क्यै छ, बढेको बढ्यै छ । जवानीको तरेली नै यस्तै हो हजुर ! पनि भन्न भ्याउँछन् । तर नबुझ्नेहरू भन्छन्– कति छिल्लिएकी ? चेतनाअनुसारको बुझाइ न हो । जे भने नि भो । आमा भन्नुहुन्छ, ‘धर्तीमा आँखा खोल्दा नै अचम्मकी थिइस् तँ ! खै उहाँको भाव कसरी ठम्याउनु ? आफूलाई कुन रंग सुहाउँछ त्यो त ठम्याउन सकेको छुइन । साह्रै गहिरो तलाउमा भएजस्तो भान हुन्छ । मेरो मनको पोखरीमा थरीथरीका माछाहरू पौडिरहेका हुन्छन्, तर कुन प्रजातिको हो चिन्नै गाह्रो । फेरि आँखामा लेउ लागेको होइन है, मेरा आँखा समुन्द्र हुन् । उबेला बम अर्काको टाउकोमा पड्काउन मन लाग्थ्यो, आजकल भो भनेर छोडिदिन्छु ।
यो उमेरको सोचाई हो कि ? म नाटक गर्दैछु ? आफैं अक्कबक्क परेकी छु । यस्तै सोच्दै थिएँ, अचानक गाडी घ्याच्च रोकियो । ब्रेक पनि कसरी लगाउँछन्, गुरुजी । राजाको गाडीमा राजा नै सवार । घमण्डको तह नै पार गर्छन्, यिनीहरु । घमण्डले भरिएका चालकलाई केही भनिसाध्य छैन, फेरि ट्याक्सीमा जानू नि ! सिधै जवाफ फर्काइहाल्छन् । मारिदिऊँझैं झोक चल्छ । जिन्दगीमा सबैभन्दा रमाइलो पल मलाई गाडीको झ्यालतिर बसेर बाहिरी संसार र भित्रका मुहार नियाल्दा लाग्छ । कति आनन्द आउँछ । वरपरको दृश्यले मनलाई खुशी बनाउँछ । ‘मुडअफ’ भएको बेला त्यसो गर्ने बानी ममा छ । कहिलेकाँही हावा–तालमा हराइदिन्छु, त्यो पनि गाडी चढेर ।
चारपाङ्ग्रे गाडी जता गुड्यो, उतै रमाइलो । यसो गर्दा थरीथरीका किम्वदन्तीहरू दगुर्ने नै भए । पात्र टिपेर सिउरिनुको मज्जा बेग्लै छ । बूढानीलकण्ठदेखि लगनखेलसम्म साझा बसमा माकुराको जालो बुन्दै थिए । जति नै ठूलो कुरा गरे पनि युवा–युवतीको चाहना आफूसँग नै मिल्छ । हामीहरु सोच्छौं, ‘गाडीमा यात्रा गर्दा आफ्नो सीटमा राम्रो मान्छे परिदिए हुन्थ्यो ।’ तर, मेरो चाहना बालुवामा पानी हाले सरह भयो । एक यात्रु हतारहतार आएर मसँगैको सिटमा थचक्कै बसिन् । कहाँ जान त्यति हतारिएको होला ? अन्दाजी ४५ वर्षकी उनले आँखामा कालो चश्मा लगाएकी थिइन् । मोबाइल हेर्न गाह्रो परेछ र मलाई कोट्याइन् अनि भनिन्, ‘नानी म आँखा देख्दिँन । मेरी छोरीको नम्बर डायल गरिदिनु न ।’
यति भनेपछि कर लाग्यो र फोन गरिदिएँ । उताबाट छोरीले भनिन्, ‘मम्मी कहाँ हुनुहुन्छ ।’ छोरीको मायाले चुरचुर पारेकी आमाले खाजा खायौ ? भनेर सोधिहालिन् । बाबा र भाइ खोइ ? बाबाले औषधि खाने बेला भयो है । म सरलाई भेट्छु, नआत्तिकन पढ्नु । यति भनेर उनले फोन काटिन्, मलाई आफ्नो मम्मीको याद आयो । मैले उनलाई आफ्नो सम्पूर्ण कथा व्यथा सुनाए, उनी मुसुक्क हाँसिन् । रहर र जिम्मेवारीले आमा हुनु र आमा हुन नचाहेर हुनुमा फरक छ, नानी ? के गर्नु संसारको रीत भोग्नैपर्ने रहेछ । मलाई लाग्यो साहित्यिक गन्थन पोख्दै थिइन्, त्यसैले वास्ता गरिन । कहिलेकाँही आफ्नो पीडा यति ठूलो हुन्छ कि अर्को व्यक्तिको भाव पनि बुझ्न मन लाग्दैन् । गाडी निरन्तर उही बेगमा– कोही यात्रु चढ्दैछन्, कोही झर्दैछन् । शहरमा सबैलाई हतारो छ । आखिर गन्तव्यमा पुग्नैपर्यो ।
‘धेरै अन्याय सहेर होला, मभित्र छुट्टै क्रान्तिको आगो बलेको थियो । तर भाउजु हिँडेपछि जिम्मेवारी झनै थपियो । मैले दुईवटा काखे नानी च्यापेर लडेको छु, नानी कठै ! कसरी बाँचियो खै ? आज मर्ने कि भोलि ठेगान नहुने । नामै त जनयुद्ध, लडेपछि नयाँ किरणले बोलाउछँ कि भन्ने सपना सिरानीमा राख्थें’, उनी बगिरहिन् । अबचाँहि म प्रश्न सोध्न बाध्य नै भए । अनि प्रश्न गरिहालेँ–तपाईंले नानीलाई किन लग्नुभएको ? आमाकोमा छोडिदिनुपर्थ्यो नि ? आमाले दाइलाई हेर्ने कि टुहुरालाई, जवानीको जोस अलिकति युवा आक्रोश भन्दै उनले जवाफ फर्काइहालिन् ।
‘२०५८ सालमा नेपालका राष्ट्रप्रमुख तत्कालीन राजा वीरेन्द्रलगायत उनको परिवारका सदस्यहरूको नारायणहिटी दरबारमा हत्या भएलगत्तै उनका माहिला भाइ ज्ञानेन्द्र नालायक राजाको रुपमा गद्दीमा बसेका थिए । देशमा संकटकाल लाग्यो । तिमी त सानै थियौ होला नि ?’, उनले सोधिन् । कथा लामो भएकाले उनको कुरा सुनिरहेँ । लडाकुको व्यथा सुन्दा मनमा एउटा आक्रोश उत्पन्न हुँदोरहेछ । जनयुद्ध नरोकिएकाले त्रासमा बाँच्नुपरेको सुनाउँदा मलाई पनि त्यहिँ छु जस्तो अनुभव भयो ।
राजाले निर्वाचित संसद् भंग गरेर सत्ता आफ्नो हातमा लिँदाको स्थिति जटिल बनेको उनको भनाइ छ । उक्त आन्दोलनमा हिँडेकी उनले आफ्नो अनुभव सुनाउँदै गइन् । उनले बोलेको सुनिरहन मन लाग्ने । ‘हेर न नानी मभित्र राजतन्त्र समाप्त गरेर गणतन्त्र स्थापना गर्ने भूत सवार थियो । २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौतामा हस्ताक्षर गरेर युद्ध अन्त्य गरे । सुनिन्छ, १७ हजार योद्धा मारिए, त्यसमा १६ हजार महिला नै थिए रे । आफूलाई त्यो सुन्दा अहिले पनि मुटु पोल्छ’, उनले सुनाइन् ।
मुलुकले परिवर्तन पाउला भनेर लडेकी उनी अहिलेको अवस्थादेखि खुशी छैनन् । राम्रै होला भनेर ज्यान फाल्दा अहिले यता न उता भएको उनी सुनाउँछिन् । ‘अघि तिमीले फोन लगाइदिएकी थियौ नि, ऊ मेरी भतिजी हो । भतिज पनि छ । दाइ, म र उनीहरू सँगै बस्छौं । टन्न धन–सम्पत्ति नभए पनि आनन्दको आभाष छ । आमाको देहान्त भयो । जसोतसो गरेर पढाउँदैछु, राम्रो पढ्छन् । ज्ञानी छन् । मैले विवाह गरेँ भने उनीहरूको बिचल्ली हुन्छ भनेर गरिन । अहिले, पो नानीहरू बिहे गर्नाेस् भनेर करकर गर्छन्’, उनी आफ्नो कहानी भन्दै थिइन् ।
त्यति भनेपछि उनको अनुहारमा छुट्टै चमक आयो । गाला चाउरिएको भए पनि निकै सुन्दर लाग्यो । उनको कुरा सुनेर म छियाछिया भइसकेको थिए । तर, एउटा गर्वलाग्दो इतिहास सुन्न पाउँदाको अनुभव नै बेग्लै हुँदो रहेछ । ती प्यारी इन्दु दिदीले भोगेको कुरा सुन्न पाउँदा म निकै प्रफुल्लित भए ।
टिप्पणीहरू