भारतद्वारा अतिक्रमित गुन्जीको मुद्दा राष्ट्रसंघ पुग्यो,छिमेकी मुलुकहरुलाई दिइयो जानकारी
भारतले अतिक्रमण गरेको नेपाली भूभाग कालापानी र गुन्जीको विषय संयुक्त राष्ट्र संघ पुगेको छ । गुन्जीलाई भाइब्रेण्ट भिलेज बनाउने भारत सरकारको योजनाले श्रृजना गरेको त्रास र आतङ्कबाट भूमि कब्जासँगै मानव अधिकारको समेत हनन भएको पत्रमा उल्लेख छ ।
सोही विषय उठाउँदै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषदमा ज्ञापनपत्र पठाएको छ । गत फेब्रुअरी २७ देखि आगामी मंगलबारसम्म जेनेभामा भइरहेको मानवअधिकार परिषदको ५२ औँ सत्रमा उक्त ज्ञापनपत्र पठाइएको हो । सत्रका सभापति भाक्लाव बालेकलाई संबोधन गरेर पठाइएको पत्रमा सैनिक प्रभुत्वको आडमा भारतले नेपालको भूभाग अतिक्रमण र कब्जा गरेर आतङ्क फैलाएको दाबी गरिएको छ ।
‘यसबाट मानवअधिकारको ठाडो उल्लंघन भएको छ,गत वर्ष भाइब्रेण्ट भिलेज प्रोजेक्टअन्तर्गत नेपालको दार्चुला जिल्लाको गुन्जी गाउँलाई छनोट गरेर त्यहाँ एक अर्बदेखि दुई अर्बसम्म भारतीय रुपैयाँ खर्च गर्ने भनी भारत सरकारले केन्द्रीय बजेट–२०२२ मा व्यवस्था गरेको तथ्य प्रकाशमा आइसकेको छ,’ पत्रमा लेखिएको छ । मोर्चाले भारतको उक्त अवैध कार्यबाट नेपालको सार्वभौमसत्तामाथि चुनौती थपिएको र यस क्षेत्रको शान्ति र स्थायित्वमाथि पनि भयावह प्रहार भएको जनाएको छ ।
सैन्य बलका आधारमा अर्को मुलुकको भूमि कब्जा गर्दा अतिक्रमित क्षेत्रका बासिन्दाका साथै त्यससँग जोडिएका अन्य स्थानका बासिन्दामा समेत त्रास उत्पन्न भएको मोर्चाको ठहर छ । त्यसैले शान्तिपूर्ण रूपमा बाँच्न पाउने स्थानीय नेपाली जनताको सार्वभौम अधिकारमाथि भारतले घात पुर्याउँदै आइरहेको आरोप छ । मोर्चाका अध्यक्ष फणिन्द्र नेपालद्वारा हस्ताक्षरित ज्ञापनपत्रको अन्त्यमा विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतको वर्तमान सरकारले मानवअधिकारका आधारभूत मान्यतालाई कुल्चियो भनिएको छ । भारतले देखाएको उक्त व्यवहारलाई मानवअधिकार परिषदको ५२ औँ सत्रले यथोचित सम्बोधन गर्न माग गरिएको छ ।
ज्ञापनपत्रको बोधार्थ नेपाल सरकारका अतिरिक्त जनगणतन्त्र चीन,भारत,पाकिस्तान, बंगलादेश,श्रीलंका, भुटान,अफगानिस्तान र माल्दिभ्सका प्रधानमन्त्रीलाई दिइएको छ । सार्क महासचिव र राष्ट्रिय मानवअधिकार आयोगलाई पनि बोधार्थ दिइएको छ । ज्ञापनपत्रबारे राखिएको जिज्ञासामा मोर्चा अध्यक्ष नेपालले आफूहरुले नेपाली नागरिक हुनुको कर्तव्य निर्वाह गर्दै जाने, थाकेर वा निरास र विचलित नभई निरन्तर लागिरहने बताए ।
टिप्पणीहरू