एयर इण्डियाको विदेश उडानमा विशेष ‘मेनु’

एयर इण्डियाको विदेश उडानमा विशेष ‘मेनु’

भारतको राष्ट्रिय ध्वजावाहक वायु सेवा कम्पनी एयर इण्डियाले अन्तर्राष्ट्रिय रुटमा यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरेर खानाका विभिन्न परिकार समेटिएको मेनु तयार पारेको छ । एयर इण्डियाको उडानमा अन्तर्राष्ट्रिय रुटमा यात्रा गर्नेले अब नयाँ खाना र पेय पदार्थ चाख्न पाउने बताइएको छ । 

एयरलायन्सले शाकाहारी यात्रुका लागि सागपात, अन्न र फलफूलबाट बनाइका खानेकुराको व्यवस्था गरिएको जनाएको छ । ट्वीटरमार्फत जानकारी गराउँदै एयरलायन्सले भनेको छ, ‘आफ्नो फस्र्ट र बिजनेश क्लासका शाकाहारी यात्रुका लागि शुद्ध शाकाहारी खानाको विकल्प ल्याएको छ ।’

यात्रुहरुलाई रेष्टुरेण्टझैं अनुभव गराउन खाना र पेय पदार्थको नयाँ मेनु बनाइएको एयरलायन्सका इनफ्लाइट सेवाका प्रमुख सन्दीप बर्माले बताए । यसले उडानमा यात्रुहरुले उत्कृष्ट अनुभव महशुस गर्ने उनको भनाइ छ । 

‘अतिथिहरुको उडान अनुभवलाई रुपान्तरण गर्न हामी निरन्तर प्रयासमा छौं । यो त्यसकै एक भाग हो । हामीले मेनुमा उत्कृष्ट खानेकुरा समावेश गरेका छौं’, उनले भने, ‘हाम्रा अतिथिका लागि आफ्नो मनपर्ने रेष्टुरेण्टमा जस्तै एयर इण्डियाका उडानमा खाना र पेय पदार्थको आनन्द दिन चाहन्छौं ।’

मेनुमा गौरमेट डिस, ट्रेन्डी एपेटाइजर, डिसेडेन्ट, डेजर्टहरु समावेश गरिएको छ । स्वस्थ खानपानसँगै भारतको स्थानीय खानालाई प्रोत्साहन गर्ने उद्देश्यले एयरलायन्सले यो व्यवस्था गरेको हो । यसका लागि खानपान साझेदार, आपूर्तिकर्ताको टोलीसँग साझेदारीसमेत गरिसकेको जानकारी दिएको छ ।

यसअघि संयुक्त अरब इमिरेट्सको इत्तेहाद एअरलाइन्सले पनि उडानमा यात्रुले रोजेको मेनुको आधारमा खाना र पेय पदार्थ उपब्ध गराउने व्यवस्था लागु गरिसकेको छ ।

टिप्पणीहरू