फेरि भकुण्डो बन्न लागे सचिवहरू

फेरि भकुण्डो बन्न लागे सचिवहरू

सरकार परिवर्तनपिच्छे भकुण्डोझैँ यताबाट उता र उताबाट यता फालिने गरिएका कर्मचारीका हाकिमहरूमाथि फेरि अर्को प्रहार थालिएको छ । केही दिन सचिव र सहसचिवहरूको नाडी छामिसकिएकाले यो साताभित्र सरकारले केही सचिवको सरुवा गर्न लागेको बताइन्छ । तर केही मन्त्रालयमा अझै मन्त्री नियुक्त भएका छैनन् । सबै मन्त्रीको नियुक्तिपछि मात्रै एकैचोटी सरुवा गर्ने कि केही मन्त्रालयमा मात्रै चलाउने भन्ने छलफलले मूर्त रुप लिन नसकेको स्रोतको दाबी छ ।

‘आगामी दिनमा नियुक्त हुने मन्त्रीले के भन्छ, को मन्त्री आउँछ केही दिन पर्खेर एकैचोटी गरौं भन्ने आवाज पनि सुनिएको छ,’ बालुवाटार स्रोतले सचिव सरुवाको संकेत गर्दै भन्यो । तर, अहिले अरुलाई यथावत राखे पनि अर्थ सचिवलाई तत्काल चलाइहालौं भन्ने हुट्हुटी सिंहदरबारमा सबैभन्दा धेरै देखिन्छ । अर्थसचिव तोयम रायलाई उद्योग मन्त्रालयबाट ल्याइएको थियो । उनी त्यसअघि अख्तियारमा थिए । गत पुसमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले रायलाई अर्थमा भित्र्याएका हुन् ।

त्यहीँका राजश्व सचिव भने अख्तियारबाट आएका डा. रामप्रसाद घिमिरे हुन् । अर्थमन्त्रीमा डा. प्रकाशशरण महत नियुक्त भएको सन्दर्भमा रायलाई आजभोलि नै चलाइने र अरुलाई ‘ग्रुपमा’ गर्ने भनिएको छ । रायको ठाउँमा गत पुसमा त्यहींबाट फालिएका कृष्णहरि पुष्करलाई ल्याउन लागिएको बुझिएको छ । 

‘भाउजू’ को ज्यादै जोड भएकाले उनको नाम र चर्चा बढी हुन पुगेको कांग्रेसीहरू नै बताउँछन् । पुष्करको भाउजूका साथै पूर्वअर्थमन्त्री जनार्दन शर्मा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ‘छिमेक’ तिर पनि राम्रै सम्बन्ध देखिन्छ । अर्थकै क्याडेट बैकुण्ठ अर्याललाई अब गतिलो ठाउँ नदिने मनस्थितिमा स्वयम् प्रधानमन्त्री पुग्नुभएको माओवादी मन्त्रीहरूको बुझाइ छ । ‘प्रधानमन्त्रीले नै नरुचाएपछि के लाग्छ र ? अर्याललाई मन्त्रीले होइन, प्रधानमन्त्रीले नै नचाहेको भन्ने प्रचार गरेर अघिल्लो साता सञ्चारबाट फालिएको थियो,’ उनै सचिवले थपे ।

अर्याल आगामी असार मसान्तसम्म सरकारी सेवामा रहनेछन् । आगामी बजेट तर्जुमाको निम्ति समय ढिलो भइसकेको हुँदा कांग्रेसले साँप मर्ने, लठ्ठी पनि नभाँचिने सिद्धान्तमा टेकेर अर्याललाई अर्थमा ल्याइ काम लगाउने र बजेटपछि घर पठाइदिने योजना बनाएको थियो । ‘बजेट बनाउन ल्याऊँ, ती काबिल हुन् । साउनपछि घर जान्छन् अनि अर्को ल्याउँला भनिए पनि प्रधानमन्त्रीले अस्वीकार गर्नुभयो,’ कांग्रेसका एक जना मन्त्रीले बताए ।

उनको विकल्पमा केवल भण्डारीलाई योजना आयोगबाट लैजाने तयारी गरे पनि यसबीचमा ठूलै भाँजो हालिएको बताइन्छ । स्थीर सरकार भनिएको ब्युरोक्रेसीलाई नयाँ सरकारको गठन र पुनर्गठनपछि सँधै अस्थिर बनाउने गरिएको छ । सचिवहरूको सरुवासँगै तीनदेखि चार जना सहसचिव पनि यताउता हुने अवस्था छ ।

टिप्पणीहरू