१४ जना ठेकेदार अझै ठेक्का ओगट्ने, काम नगर्ने रणनीतिमा

१४ जना ठेकेदार अझै ठेक्का ओगट्ने, काम नगर्ने रणनीतिमा

भरतपुर महानगरपालिकाले ठेक्का ओगटेर समयमा काम नगर्ने १४ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सात दिने स्पष्टीकरण सोधेको छ । 

महानगरपालिकाले प्रतिबद्धताबमोजिम काम नगर्ने ठेकेदारहरुसँग सात दिनको समय तोकेर लिखित स्पष्टीकरण मागेको हो । अन्यथा कारबाही प्रक्रिया अगाडि बढाउने महानगरपालिकाको आज प्रकाशित सूचनामा उल्लेख छ ।

स्पष्टीकरण मागिएका निर्माण कम्पनीमा अमृत कश्यद जेभी, धुलिखेल निर्माण सेवा प्रालि, ऊर्जा कृष्ण जेभी, प्रशंसा कन्स्ट्रक्सन प्रालि, ऊर्जा मस्ता जेभी, डि एण्ड एस हिमालयन कन्स्ट्रक्सन हुन् । त्यस्तै, जीएमआर दाजुभाइ जेभी, वल्र्डवाइड धुलिखेल जेभी, शिवस्थल निर्माण प्रालि, विक्रमबाबा कन्स्ट्रक्सन प्रालि, लोहनी लोहनी एण्ड सन्स दाजुभाइ जेभी, प्रदिप निर्माण सेवा, भूमेस्थान निर्माण प्रालि र युविना कन्स्ट्रक्सन एण्ड सप्लार्यस प्रालिलाई पनि स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ ।

सूचनामा भनिएको छ, ‘उक्त निर्माण व्यवसायीलाई यसअघि पनि पटक–पटक सूचना, लिखित पत्र तथा मौखिक निर्देशनमार्फत आग्रह गर्दा समेत लामो समयसम्म बेवास्ता गरेको हुँदा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ र ठेक्का सम्झौताको सर्तमा प्रावधान भएबमोजिम ठेक्का सम्झौता तोडी कार्य सम्पादन जमानत जफत गर्ने, कालोसूचीमा राख्न सिफारिस गर्ने, हर्जाना असुल गर्ने, बाँकी निर्माण कार्यहरुको मूल्याङ्कन गरी ठेक्का सम्झौताबमोजिम सरकारी सम्पत्ति बाँकी सरह असुल उपर गर्नेलगायतका कारबाही प्रक्रिया किन अगाडि नबढाउने ? कारबाही अगाडि बढाउनुनपर्ने मनासिव कारण भए यो सूचना प्रकाशित मितिले सात दिनभित्र स्पष्टीकरण बुझाउनुपर्ने छ ।’

तोकिएको समयावधिभित्र लिखित स्पष्टीकरण नबुझाए ती निर्माण कम्पनीलाई सम्झौताबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने महानगरको चेतावनी छ ।
 

टिप्पणीहरू