बैठकअघि ढाकासँग रवि र डोलप्रसादको छुट्टै वार्तालाप

बैठकअघि ढाकासँग रवि र डोलप्रसादको छुट्टै वार्तालाप

घुस प्रकरणमा मुछिएर पार्टीबाट निलम्बनमा परेका सांसद ढाकाराम श्रेष्ठसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एकल छलफल गरेका छन् । यस प्रकरणमा निर्णय लिन केन्द्रीय समितिको बैठक बस्नुअघि लामिछानेले श्रेष्ठसँग छुट्टै बसेर कुराकानी गरेका हुन् । 

मन्त्री बन्न लामिछानेको कोर टिमलाई दुई करोड बुझाउनुपर्ने भन्दै श्रेष्ठले मेडिकल माफिया दुर्गा प्रसाईं मार्सीसँग पैसा मागेको टेलिफोन संवादको अडिओ सार्वजनिक भएपछि रास्वपाले उनलाई निलम्बन गरेको छ । अडियोमा सुनिएको आवाज आफ्नो नभएको जिकिर गरिरहेका श्रेष्ठले पार्टीको अनुशासन तथा आचरण समितिमा लिखित स्पष्टिकरण र मौखिक बयान दिइसकेका छन् । 

त्यसको अध्ययन गरेर समितिले सभापति लामिछानेलाई हिजै प्रतिवेदन बुझाइसकेको छ । यसबारे निर्णय लिन आज बोलाइएको केन्द्रीय समिति बैठकअघि लामिछानेले श्रेष्ठसँग छलफल गरेका हुन् । 

त्यसअघि उपसभापति डोलप्रसाद अर्यालले पनि सांसद श्रेष्ठसँग छलफल गरेका थिए । आफूलाई कारबाही गरिए ’कोर टिम’ को कर्तुत सार्वजनिक गर्ने उनको चेतावनीले लामिछाने अप्ठेरोमा परेको भनिएका बेला उनलाई फकाउन छुट्टै छलफल भएको नेताहरुले आशंका गरेका छन् । 

 यता सांसद श्रेष्ठले चेतावनी दिएको भनिएका समाचारहरु आइरहेका छन् ।

टिप्पणीहरू