एक वर्षमै पुल जीर्ण भएपछि खाेलाको बगरमा सवारी साधनको लर्को
-शंकर श्रेष्ठ
उत्तरी धादिङ जाने लपाङखोलाको पुल सञ्चालनमा आएको एक वर्षमा जीर्ण बनेको छ । अघिल्लो वर्षको बर्खामा बाढीले पुलको एकातिरको एप्रोज रोड भत्काइदिएपछि जोखिम पनि उत्तिकै बढेको छ ।
नेत्रावतीबाट खनियाबासतर्फ जाने साइडको पुलको स्पान अर्थात क्यान्टिलिभर नै छुट्टिएको छ । अहिले पुलमा सवारी आवागमन रोकिएको छ । पुलमुनीको बगरबाटै जोखिपूर्ण ढंगबाट सवारी आउजाउ गराउन चालकहरु बाध्य भएका हुन् ।
उक्त उत्तरी धादिङको विकट बस्तीहरु रुवीभ्याली, खनीयाँबास, गंगाजमुना र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने एक मात्र पुल हो । पुल त्रिपुरासुन्दरी गाउँपालिका ७ र नेत्रावती डब्जोङ गाउँपालिका १ को लापाङ खोलामा पर्छ । पुल निर्माण पश्चात् आवत जावतमा सहज हुने आशामा रहेका स्थानीय अहिले समस्यामा परेका छन् ।
हिउँदमा जेनतेन खोलाबाटै आवत जावत गर्न सकिने तर वर्षायाममा यसले निकै समस्या ल्याउने नेत्रावती डबजोङ गाउँपालिका १ का वडाध्यक्ष ठाकुर गुरुङले बताए । पुल वरपर र माथिल्लो भागमा निकै ठूलो पहिरो भएकाले वर्षायाममा खोलामा आउने बाडी र पहिरोले पुलमा थप क्षति पुग्ने जोखिम उत्तिकै छ ।
बाढीले बिगारेको पुलको अहिले सम्बन्धित ठेकेदार कम्पनीले मर्मत थालेको छ । तर, ठेकेदार कम्पनीको लापरबाहीले पुल कमजोर बनेपछि समस्या आएको स्थानीयको भनाइ छ । वडाध्यक्ष गुरुङ भन्छन्–‘पुल निर्माण भएको ठाउँको माटो नै कमजोर भएकोले पुलको बेस कमजोर छ । ठेकेदार कम्पनीले अहिले प्लम वाल लगाएर पुलको मर्मत थालेको छ तर झारा टारेझैं काम भएको छ । भूगोलअनुसार टिकाउ हुने काम भएको छैन ।’
अहिले पुल मर्मतमा खटिएका सुपरभाइजर एलजी मगर भने पुलको एकातर्फको इन्डिङ प्वाइन्टमा थोरै मात्रै लच्किएको र त्यसमा माटो भरेपछि समस्या नआउने बताउँछन् । पुलको आडमा चार सय ३१ घनमिटरको प्लमवाल लगाईंदैछ । प्लमदेखि माथिल्लोतर्फको घुम्तीसम्म नौ सय १० घनमीटरको जाली लगाउने काम शुरु गरिएको उनले बताए ।
मानिसहरु आवतजावत गर्ने झोलुङ्गे पुल पनि निकै जीर्ण बनेको छ । पुल बनेसँगै किन्ताङ्गफेदीसम्म वर्षातको समयमा सवारी चल्नेमा उनीहरु ढुक्क थिए । तर आगामी वर्षात् सुरुभएपछि सवारी ठप्प हुने स्थानीयको भनाई छ । यसबाट उत्तरी क्षेत्रका स्थानीयलाई आवत जावतमा मात्र नभएर दैनिक उपभोग्य सामान ल्याउनसमेत निकै असहज हुने स्थानीय बताउँछन् ।
सरकाले रसुवा कन्ट्रक्सन र जय विष्णु निर्माण सेवालाई उक्त पुल निर्माणको जिम्मा २०७६ सालमा दिएको थियो । ती निर्माण कम्पनीले समय अगावै पुल निर्माणको काम सम्पन्न गरी हस्तान्तरण गरेका हुन् । एक वर्षपछि २०७७ मा निर्माण सम्पन्न उक्त पुल रसुवा कन्ट्रक्सन र जय विष्णु निर्माण सेवाले संयुक्त रुपमा झण्डै पाँच करोड ५० लाखको लागतमा पूरा गरेका हुन् । पुलको लम्बाई ४५ मीटर र चौंडाई छ मीटर रहेको बताइएको छ ।
तस्बिर : शंकर श्रेष्ठ
टिप्पणीहरू