रविले कोर टीम लुकाएकोमा ढाकाको दुखेसो

रविले कोर टीम लुकाएकोमा ढाकाको दुखेसो

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निकालिएका सांसद ढाकाकुमार श्रेष्ठले सभापति रवि लामिछानेको घुस माग्ने ‘कोर टिम’का सदस्यलाई लुकाउन खोजिएको आरोप लगाएका छन् ।

पार्टीबाट निश्कासित भएलगत्तै जनआस्थाको टेलिफोन सम्पर्कमा आएका उनले अडियो सुनेकै भरमा सभापति लामिछाने र महामन्त्री मुकुल ढकालले प्रक्रिया पूरा नगरेर नियोजित रुपमा पार्टीबाट निकालेको बताएका छन् ।

"सभापतिको ‘कोर टिम’लाई बचाउन र उपनिर्वाचनमा ‘स्टन्टबाजी’ गर्नका लागि आफूलाई कारबाहीको नाटक गरेको ढाकाकुमारले बताए ।"

रास्वपाले सभापतिको ‘कोर टिम’लाई बचाउन र उपनिर्वाचनमा ‘स्टन्टबाजी’ गर्नका लागि आफूलाई कारबाहीको नाटक गरेको ढाकाकुमारले बताए ।

उनकाे भनाइ जस्ताकाे तस्तै—

‘मलाई पार्टीबाट निष्कासन गरेको समाचार भर्खंरै सुनेँ तर अचम्म लागेको छ । एउटा नक्कली अडियो सुनेको भरमा कारबाही गर्न मिल्छ ? रविजी आज भोलि खुब् नैतिकताको कुरा गर्नुहुन्छ ? उहाँ र उहाँको कोर टिमलाई चाहिँ नैतिकताको प्रश्नले छुँदैन ? आफ्नो कोर टिमलाई बचाउनका लागि मलाईचाहिँ कारबाहीको नाटक गर्नुपर्छ ? रास्वपामा मेरो पनि लगानी छ । त्यो आर्थिक होस् या भौतिक । मैले यो पार्टीमा पसिना बगाएको छु । मेरो इमान्दारिता मरेको छैन। तर, मेरा सभापतिलाई मेरो एउटा गम्भीर प्रश्न छ, के सूर्य हत्केलाले छेकेर छेकिन्छ ? मैले आजको दिनसम्म इमान्दारितापूर्वक काम गरेको छु । भ्रमका पर्दाहरू विस्तारै खुल्दै जानेछन्,बस् यत्ति भन्न चाहन्छु ।’

टिप्पणीहरू