काठमाडौं विमानस्थलमा चिनियाँ पर्यटकको भव्य स्वागत

तीन वर्षपछि चिनियाँ पर्यटकहरु पहिलो पटक सामूहिक रुपमा नेपाल भ्रमणमा आएका छन् । चीनले नेपाललाई पनि पर्यटन गन्तव्य तोकेपछि उनीहरु आज बिहान सवा ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । 

हिमालय एअरलाइन्सको चार्टर उडानमा आएका १८० जना चिनियाँ पर्यटकलाई पर्यटनमन्त्री सुदन किराँतीलगायत सरकारी अधिकारीहरुले विमानस्थलमा स्वागत गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी, विमानस्थल कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारी, नेपालका लागी चिनियाँ राजदूत छन सोङ्ग पनि उनीहरुको स्वागतमा विमानस्थल पुगेको बताइएको छ ।

कोरोना महामारीपछि ठप्प भएको दुई मुलुकबीचको हवाई उडान, नाका सञ्चालन र आवतजावत पूर्ववत अवस्थामा फर्कन लागेको छ । यसले नेपालको पर्यटन विकासमा सघाउ पुग्ने आशा गरिएको छ ।

टिप्पणीहरू