ढुंगागिट्टी ठेक्कामा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा दायर

ढुंगागिट्टी ठेक्कामा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायरा गरेको छ । 

महाकालीमा नदीजन्य पदार्थ उत्खनन्को ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टसहित नौ जनाविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको आयोगले जनाएको छ । 

आयोग प्रवक्ता भोला दाहालका अनुसार नगरपालिकाका लेखा अधिकृत गोविन्दराज उपाध्याय, इञ्जिनियर हिमालय सिंह ऐर, अधिकृत छैठौँ तहका सुवास अधिकारी, नायव सुब्बा विष्णुदेव भट्ट, लेखापाल (सहायक पाँचांै) दीपेन्द्र चौधरीविरुद्ध पनि मुद्दा दायर गरिएको छ । 

त्यस्तै, भवानी कन्स्ट्रक्सन प्रालिका सञ्चालक स्व.ईश्वरीप्रसाद भट्टकी श्रीमती खगेश्वरी भट्ट, केशवराज भट्ट र कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि दिवाकार भट्टलाई पनि अख्तियारले विपक्षी बनाएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा ढुंगा, गिट्टी, बालुवा, ग्राभेलको निम्ति गरिएको बोलपत्र आह्वानपछि भवानी कन्स्ट्रक्सन प्रालि कन्चनपुरसँग ठेक्का सम्झौता भएको थियो । सम्झौतामा पाँच करोड ४३ लाख ३१ हजार ८२७ रुपैयाँ बराबरको राजस्व रकम हानी÷नोक्सानी गरेको अख्तियारको ठहर छ । 

राजस्व चुहावट वापतको एक करोड ९५ लाख १ सय ७ रुपैयाँ ७९ पैसा र बैंक जमानत गरेकाले सोवापत तीन करोड ४७ लाख नोक्सानी पुग्न गएको देखिन आएकाले कुल पाँच करोड ४३ लाख ३१ हजार ८ सय २७ रुपैयाँ ७६ पैसा बिगो रकम भराउन मागदाबी गरिएको छ ।

साथै, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १ को उपदफा (१) को देहाय (झ) बमोजिम उनीहरुलाई दोब्बर जरिवाना, बिगो र कैद सजाय माग गरिएको मुद्दामा उल्लेख छ ।
 

टिप्पणीहरू