प्रहरीमाथि अर्को गम्भीर आरोप, निवेदनको नाममा ५ सय रुपैयाँ असुली

प्रहरीमाथि अर्को गम्भीर आरोप, निवेदनको नाममा ५ सय रुपैयाँ असुली

प्रहरी कार्यालयमा निवेदन दर्ता गर्न जानेसँग जनही पाँच सय रुपैयाँ असुल्ने गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी लिएर जाने कोहीसँग रेडिमेड फर्म्याट भरेपछि प्रहरीले पाँच सय रुपैयाँ माग्ने गरेको एक जना भुक्तभोगीले बताएका छन् । 

चेक बाउन्स भएको र आफनो लाखौं रुपैयाँ प्राप्त नभएको उजुरी लिएर गएकासँग चैत ६ गते प्रहरीले पाँच सय रुपैयाँ मागेका हुन् । गत मंसिर १२ गते १९ लाख ९४ हजार रुपैयाँ दिएका एक जनाले रकम फिर्ता नगरेपछि उजुरी लिएर गएकासँग प्रहरीले निवेदनवापत पाँच सय रुपैयाँ मागेका हुन् । ​​​​​​

तिनाउ नगरपालिका ८ का निवेदक हिमलाल घिमिरेले बुटवल ११ देवीनगरका पबि सारुविरुद्ध उजुरी हालेका हुन् । चलनचल्तीको ब्याजमा दिइएको रकमको साँवा र ब्याज प्राप्त नभएपछि उनी उजुर गर्न प्रहरी कार्यालय पुगेका हुन् । तर, प्रहरी पशुपति गुप्ताले आफैँले निवेदन फर्म भरेपछि पाँच सय रुपैयाँ मागेका हुन् । इन्सपेक्टर दिपक कुँवर र सई डाँगीसहितलाई भागबण्डा लगाउनुपर्ने भएकाले उक्त रकम मागिएको गुप्ताको भनाई थियो ।

रुपन्देही जिल्ला प्रहरी कार्यालयमा दिनहुँ ३० देखि ३५ वटा निवेदन पर्ने गरेको छ । त्यसरी प्रतिव्यक्ति पाँच सय रुपैयाँ लिँदा दैनिक १५ हजार, मासिक साढ ४ लाख र वार्षिक ५० लाख बढी उठ्ने हिसाब निस्किएको छ ।
 

टिप्पणीहरू