हिमालय एअरलाइन्सको उडानमा चिनियाँ पर्यटक ह्वार्रह्वार्ती
हिमालय एअरलाइन्सले आजदेखि चीनमा चार्टर उडान शुरु गरेको छ । चीनको खुनमिङ चाङशुई अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म चार्टर उडान थालिएको हो ।
एअरलाइन्सको एचनाइन ७८५ एयरबस ए३२०–२१४ ले आज एक सय ८० चिनियाँ पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ । आगामी चार्टर उडानहरु मार्फत सात सय यात्रुलाई स्वागत गर्ने लक्ष्य एअरलाइन्सले राखेको छ ।
कोरोना महामारीका कारण चीनले आफ्ना नागरिकलाई अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो । तीन वर्षको प्रतिबन्धपछि थालिएको यो उडानले नेपालमा चिनियाँ पर्यटकको आगमन बढाउने अपेक्षा राखिएको छ ।
चीनबाट नेपालमा पहिलो चार्टर उडान शुरु गरी चिनियाँ पर्यटक भित्र्याउन सक्नु अत्यन्तै उल्लेखनीय कदम भएको एअरलाइन्सले जनाएको छ । पर्यटक क्षेत्रलाई उचाइमा पुर्याउन यसले निकै सहयोग पुर्याउने एअरलाइन्सको भनाइ छ ।
एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चार्टर उडानलाई सफल तुल्याउन सहयोग गर्ने सम्पूर्ण चीन र नेपाल सरकारका पदाधिकारीलाई धन्यवाद दिएका छन् । चीन र नेपालबीच दौत्य सम्बन्ध मजबुत बनाउने यो राम्रो मौका भएको उनको ठम्याइ छ ।
‘दुई छिमेकी मुलुकबीच यात्रुको आवागमनलाई सहज बनाउन पाएकोमा हामी गौरवान्वित छौं । हामीले आगामी दिनमा थप चिनियाँ गन्तव्यसँग यो सम्बन्धलाई बढाउने योजना बनाएका छौं’, उनले भने, ‘नेपालको पर्यटन तथा हवाई उद्योगलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ हिमालय एअरलाइन्सले राष्ट्रका लागि सदैव कदम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछ ।’
नेपाल र चीनको संयुक्त लगानीमा सन् २०१४ मा हिमालय एअरलाइन्सको स्थापना भएको हो ।
टिप्पणीहरू