चिनियाँ उडान फुकुवाको फाइदा नेपालले सक्ला उठाउन ?
पर्यटकको संख्या बढाउन नेपाल सरकारले निकै प्रयत्न गरिरहेको बताइन्छ । पर्यटकलाई आकर्षित तुल्याउन सरकारले विभिन्न कार्यक्रम ल्याएको भनिए पनि त्यसले प्रभावकारी भूमिका खेल्न नसकेको मुलुक भित्रिएका पर्यटकको संख्या र आर्जित विदेशी मुद्राको परिमाणले नै देखाइसकेको छ ।
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण नेपालमा पर्यटनको सम्भावना प्रचुर छ । तर, सरकारले त्यसलाई पहिल्याउन नसकेको गुनासो पर्यटन व्यवसायीहरुले गर्दै आएका छन् । पर्यटन बजारमा नेपाललाई स्थापित गराउन सबैभन्दा पहिले हवाई सेवा र त्यसको सुरक्षामा जोड दिनुपर्ने हुन्छ ।
यो वर्षको शुरुमा लाओसमा पर्यटकको संख्या ह्वात्तै बढेको छ । फेब्रुअरी–मार्चमा त्यता गएका चिनियाँ पर्यटकको संख्या चार लाख पुगेको छ ।
हाल मुलुकमा तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि एउटा मात्रै पूर्ण सञ्चालनमा छ । यस्तो अवस्थामा हवाई यातायात र पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने अधिकांशको सुझाव छ । हिजो एक सय ८० जना चिनियाँ पर्यटक नेपाल आएका छन् । चीनले कोरोना महामारीपछि लगाएको अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध फुकुवासँगै चिनियाँहरु विभिन्न मुलुकको भ्रमणमा निस्किएका छन् ।
चीन सरकारको निर्णय र चिनियाँहरुको छनौटलाई नेपाल सरकारले आफ्नो पक्षमा पार्न सक्नुपर्छ । नेपालको तुलनामा लाओस निकै सानो मुलुक हो । तर त्यहाँ रेल र हवाई यातायातको पर्याप्त सुविधा छ ।
उता थाइल्याण्डमा गत मार्चमा मात्रै २० लाखभन्दा बढी चिनियाँ पर्यटक गएका छन् ।
युरोप,अफ्रिका, दक्षिण अमेरिका र दक्षिणपूर्वी एसियाका मुलुकको भ्रमणमा निस्किएका चिनियाँहरु पनि उत्तिकै देखिन्छन् ।यसरी चिनियाँहरु लगातार विश्वका विभिन्न मुलुकको भ्रमणमा निस्किरहँदा नेपालमा पनि उनीहरुलाई आकर्षित तुल्याउन सकिन्छ र सक्नुपर्छ । यसका लागि सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय चार्टर उडान थाल्नुपर्ने देखिन्छ ।
टिप्पणीहरू