माओवादी नेता चीनमा,आमालाई बडीगार्डले गोली हाने नेपालमा

माओवादी नेता चीनमा,आमालाई बडीगार्डले गोली हाने नेपालमा

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा भूतपूर्व अर्थमन्त्री वर्षमान पुनको निवासमा गोली चलेको छ । उनको गैह्रिधारास्थित निवासमा गएराति अंगरक्षकले पेस्तोलबाट गोली हानेको बताइएको छ ।

अंगरक्षक प्रहरी सहायक हवल्दार प्रकाश पुनले हानेको गोली आमा तीर्थमाली पुनको गोडामा लागेको हो । ७६ वर्षीया उनको वीर अस्पताल ट्रमा सेन्टरमा बेड नम्बर ४१४ राखेर उपचार भइरहेको छ । गोली दायाँ गोडाको नलीखुट्टामा र बायाँ गोडामा पनि लागेको अस्पतालले जनाएको छ ।

आमा पुनको अवस्था खतरामुक्त रहेको बताइएको छ । सहायक हवल्दार प्रकाश पुन परिवारको नातेदार रहेको खुलेको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । गोली लागेपछि प्रकाश आफैँले घाइते आमालाई ट्रमा सेन्टर पुर्याएका थिए । नेता पुन भने उपचारको क्रममा चीनमा हुनुहुन्छ । उहाँकी श्रीमती तथा पूर्वसभामुख ओनसरी पनि चीनमा हुनुहुन्छ ।

प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रकाश कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सवारीमा अगाडि गुड्ने गाडीमा बस्ने सुरक्षाकर्मी भएको बताइएको छ ।

टिप्पणीहरू