मीटरब्याज पीडितको टाउकोमा पुलिसको लौरो, बृद्धसहित ७ जना सिकिस्त

मीटरब्याजीमाथि कारवाहीलगायतका माग राखी लामो समयदेखि आन्दोलन गरिरहेका मीटरब्याज पीडित र प्रहरीबीच आज काठमाडौंको शान्तिवाटिकामा झडप भएको छ ।

सिंहदरबार अगाडि प्रदर्शनको तयारीमा रहेका उनीहरुलाई रोक्न प्रहरीले बल प्रयोग गरेपछि झडप भएको हो । पीडितहरु सिंहदरबार जाने सूचना पाएपछि बिहानैदेखि शान्तिवाटीका गेटमा तैनाथ प्रहरी र त्यहाँबाट निस्कन लागेका प्रदर्शनकारीबीच ठेलमठेल हुँदा झडप निम्तिएको बताइएको छ । 

त्यसक्रममा प्रदर्शनकारीले ढुङ्गमुढा गरेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै ४ वटा ग्यास सेल फायर गरेको छ भने पानीको फोहाेराले हानेको छ । झडपमा परि एक दर्जन जना घाइते भएका छन् भने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरी नियन्त्रणमा परेकाहरुलाई प्रहरी वृत्त दरवार मार्ग लगिएकाे र अहिले रत्नपार्क क्षेत्रको अवस्था सामान्य भए पनि बाटो भने बन्द गरिएको प्रहरीले जनाएको छ । 

झडपमा मीटरब्याज संघर्ष समितिका सात जना घाइते भएका छन् । जसमा सर्लाहीको बाग्मतीका २७ वर्षीय कृष्ण महताे, ओखलढुंगाका २१ वर्षीय प्रदिप नेपाल, नवलपरासीका ३७ वर्षीय कुल बहादुर थापा, ६० वर्षीय अकबर मिया, इलामका ७३ वषीय लाेकनारायण सुवेदी, काठमाडौँ बालाजुका ७५ वर्षीय सिताराम तामाङ, नवलपरासीका तिलक राम चाैधरी रहेको बताइएको छ ।
 

टिप्पणीहरू