भ्रष्टाचार मुद्दा खेपेका विवादित ठेकेदारलाई लेखा समितिको जिम्मा
‘दुधको साक्षी बिरालो’ भनेजस्तै सार्वजनिक निकायमा भएका अनियमितता हेर्ने संसद्को लेखा समितिमा पूर्वपञ्चहरुको पार्टी राप्रपाले भ्रष्टाचार मुद्दा खेपेका विवादास्पद ठेकेदार विक्रम पाण्डेलाई पठाउने निर्णय गरेको छ ।
कालिका कन्स्ट्रक्सनका मालिकसमेत रहेका पाण्डे विवादित ठेकेदार हुन् । उनको कम्पनीले ठेक्का सम्झौता गरेर समयमा काम सम्पन्न नगरेको, गुणस्तरहीन काम गरेकोलगायत विषय सार्वजनिक भइरहेका छन् । सिक्टा सिँचाइ परियोजनामा उनलाई भ्रष्टाचारको मुद्दासमेत लागेको थियो । तर, उक्त मुद्दामा अदालतबाट ‘क्लिनचिट’ पाइसकेका छन् ।
तर, उनै विवादित ठेकेदारलाई राप्रपाले सार्वजनिक निकायमा भएका अनियमितताको छानबिन गर्ने जिम्मेवारी पाएको लेखा समिति सदस्यको निम्ति संसद सचिवालयलाई सिफारिस गरेर पठाएको हो ।
‘भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो’ भन्दै सनसनीपूर्ण भाषण गरेर चुनावमा भोट बटुलेका अध्यक्ष राजेन्द्र लिङ्गदेनले उनलाई यसअघि मन्त्री बनाउँदा राप्रपाभित्रै चर्को आलोचना भएको थियो । देशभरका शहरी क्षेत्रको भवन निर्माण हेर्ने शहरी विकास मन्त्रालय ठेकेदारलाई सुम्पिएर ‘स्वार्थको द्वन्द्व’ निम्त्याउने काम भएको भन्दै त्यतिबेला सार्वजनिकरुपमै प्रश्न उठेको थियो । त्यसका बाबजुद् लिंगदेनले आफूसँगै पाण्डेलाई लेखा समितिमा लैजान लागेका हुन् ।
१० वटा संसदीय समितिमा राप्रापाबाट अरु सांसद पनि सिफारिस भएका छन् । राप्रपाले अर्थ समितिमा ज्ञानबहादुर शाही र दिपक सिंहको नाम सिफारिस गरेर पठाएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा दुई राणा सांसद परेका छन् । पशुपति समशेर जबरा र धवल समशेरलाई उक्त समितिमा पठाइन लागिएको हो ।
त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा गीता बस्नेत, कानुन न्याय तथा मानव अधिकार समितिमा ध्रुवबहादुर प्रधान र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अनिशा नेपाली सिफारिस भएका छन् ।
महिला सामाजिक मामिला समितिमा रोशन कार्की, राज्य व्यवस्था तथा सुशासन समितिमा बुद्धिमान तामाङ, पूर्वाधार समितिमा दिपक बोहोरा र बिना लामा एवम् शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बिना जैसवाल परेकी छन् ।
टिप्पणीहरू