हिमाल सफा गर्न हिँडेको सैन्य टोली अन्नपूर्ण चुचुरोमा
विश्वका अग्ला हिमाल सफा गर्न हिँडेको एउटा टोली आज बिहान अन्नपूर्ण पहिलोको शिखरमा पुगेको छ । सफा हिमाल अभियान २०२३ अन्तर्गत सेनाको टोली उक्त हिमालको चुचुरोमा पुगेको बताइएको छ ।
नेपाल सरकारको राष्ट्रिय कार्यक्रम तथा प्रधान सेनापतिको कमाण्ड नीति तथा मार्गनिर्देशनमा उल्लेख भएबमोजिम प्रकृति र पर्यावरण संरक्षण कार्यलाई प्रभावकारी कार्यान्वयनको निम्ति उक्त अभियान थालिएको हो । अभियानमा सगरमाथा, ल्होत्से र अन्नपूर्ण हिमालको आरोहण गर्ने योजनामा टोलीले उक्त हिमाल आरोहण गरेको हो ।
सहसेनानी भीमबहादुर भुजेल तथा बेशक्याम्प म्यानेजर सेनानी गजेन्द्र देउवाको सहयोग र समन्वयमा सहसेनानी सुमन पाण्डे, प्युठ मानसिंह चौधरी, सिपाही नवराज राना, सिपाही ज्ञानेन्द्र डाँगी, शेर्पा सरदार छिरिङ्ग जाङ्गबो शेर्पा र अन्य पाँच जना शेर्पा सहयोगी टोलीले सफल आरोहण गरेका हुन् ।
टोलीले ती हिमालको बेश क्याम्पमा पुगेर फोहोर संकलन गरेको बताइएको छ । पछिल्लो केही वर्षदेखि सफा हिमाल अभियानको अगुवाइ गर्दै आएको नेपाली सेनाका हिमाल सफाइमा संलग्न हुने टोलीलाई जङ्गी अड्डामा आयोजित समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले सफलताको शुभकामनासहित बिदाइ गर्नुभएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
टिप्पणीहरू