रारा ताल वरपर दौडेर फन्को लगाउने दिन तोकियो

रारा ताल वरपर दौडेर फन्को लगाउने दिन तोकियो

बैशाख २२ गते रारा म्याराथन हुने भएको छ । मुगुको प्रख्यात रारा तालबाट सुरु हुने म्याराथन रारा तालको किनारम पुगेर समापन हुनेछ । अन्तराल प्रतियोगिता आयोजना र व्यवस्थापनमा मुगुका सबै स्थानीय तह र विभिन्न संघ संस्थाले सहकार्य गर्ने बताइएको छ ।

म्याराथन रारा ताल किनारबाट मुर्मा टप, मुर्मा गाउँ हुँदै चुचेमारा हिमालको ४ हजार १ सय मिटरको उचाईमा पुगेर सल्लेरी तर्फ लाग्नुपर्नेछ । त्यहाँबाट मुगुको एकमात्र विमानस्थल ताल्चा भएर सदरमुकाम गमगढी पुगेपछि पुनः रारा तालकै किनारमा पुगेर समापन हुनेछ ।

म्याराथनको महत्वपूर्ण आकर्षणको रुपमा राराताल वरपर एक फन्को लगाइन्छ । करिब १५ किलोमिटर दौडेपछि प्रतियोगिता पूरा हुनेछ । फुल म्याराथनसँगै शुरु भएर धावकहरु ताल वरपर घुम्दै पुनः शुरुआति बिन्दुमा पुगेर दौड समापन हुनेछ । यस पटक पनि आन्तरिक पर्यटक र सर्वसाधारणको व्यापक सहभागिता हुने अपेक्षा गरिएको छ ।

‘रारा म्याराथनले पश्चिम नेपालमा खेलकुदको सम्भावनालाई उजागर गर्नेछ,‘ म्याराथनका अध्यक्ष, अन्तरालका टिम लिडर जयनारायण शाहले भने, ‘बुद्ध पूर्णिमाको दिन सुन्दर रारा तालबाट भाइचारा र विश्वशान्तिको सन्देश पनि दिनेछ ।’

प्रतियोगिताबाट खेलकुदसँगै आन्तरिक र वाह्य पर्यटनको अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । म्याराथनका संरक्षक तथा मुगुबाट प्रतिनिधि सभा सदस्य ऐनबहादुर शाहीले रारा म्याराथनले खेलकुदसँगै मुगु र कर्णालीको समग्र विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । ‘रारा म्याराथनले विश्व समुदायलाई मुगुमा आकर्षित गर्नेछ,’ सांसद शाहीले भने, ‘यो म्याराथन सफल पार्न सिंगो मुगु जिल्ला एकजुट भएर लागेको छ ।’
म्याराथनले स्थानीय खेलाडी उत्पादनमा विशेष जोड दिने अपेक्षा गरिएको छ । यो वर्ष मुगुका खेलाडीलाई म्याराथनमा भाग लिँदा निशुल्क व्यवस्था गरिएको छ । प्रत्येक स्थानीय तहलाई सिफारिसको निम्ति संख्या तोकिनेछ । कर्णालीका खेलाडीहरुलाई विशेष सहुलियत हुने जानकारी दिइएको छ ।

युवा खेलाडीहरुलाई एक हप्ताको विशेष ओरियन्टेसनमा सहभागी गराएर दौडका लागि प्रोत्साहित गर्ने तयारी छ । यसका लागि रारा म्याराथनकी सद्भावना दूत विश्वकिर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राईसहितको टोली एक साताअघि मुगु पुगिसक्नेछ । 

धाविका मीरा राईको अगुवाईमा सञ्चालित मीरा राई इनिसीयटिभले पनि प्रतियोगितामा सहकार्य गरेको छ । इनिसीएटिभले ‘स्तुपा टु स्तुपा’ र भोजपुर ट्रेल रेसको आयोजना गर्दै आएको छ भने मुलुकभरबाट किशोरीहरुलाई काठमाडौंमा लगेर दौड, क्षमता अभिवृद्धि, अंग्रेजीलगायत भाषा तालिम आवासीय रुपमा सञ्चालन गर्दै आएको छ । 

‘आगामी वर्षदेखि धाविका मीरा राईलाई हरेक वर्ष कम्तीमा डेढ महिना मुगुमा भेटिन्छ’– शाहले भने, ‘निकट भविष्यमा मुगुका किशोरीहरुबाट अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य छ ।’ सुन्दर ताल राराको नाममा तयारी शुरु गरिएको म्याराथनको सद्भावना दूत भएर काम गरिरहँदा आफूले गौरव बोध गरेको मीराको अनुभव छ । 

‘रारामा नेपाली मात्र होइन विश्वकै खेलाडीहरुलाई निमन्त्रणा गर्दछु,’ उनले भनिन् ।   विकट कर्णालीका किशोरीहरुसँग काम गर्न पाउँदा आफू निकै उत्साहित भएको उनको अनुभव छ । राईले भनिन्, ‘मुगुका किशोरीहरुमा थुप्रै मीरा खोज्नेछु ।’

पहिलो चरणमा किशोरीहरुलाई खेलकुद प्रशिक्षण शुरु गरिने सांसद शाहीको योजना छ । निकट भविष्यमा समग्र खेलकुद समेट्ने गरी बृहत प्रशिक्षण गरिने अर्को योजना पनि सँगै राखिएको छ । ‘रारा म्याराथनले विकट कर्णालीमा अन्तर्राष्ट्रियस्तरको खेलकुद सफल आयोजना हुन सक्छ भनेर मात्र प्रमाणित गर्नेछैन,’ म्याराथन अध्यक्ष जयनारायण शाहले भने, ‘यो सफल आयोजनले कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद आयोजनाको निम्ति सकारात्मक सन्देश दिनेछ ।’

कर्णाली खेलकुद परिषदका सदस्य सचिव विश्वमित्र सञ्ज्यालले रारा म्याराथन कर्णालीको खेलकुद विकासमा एउटा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।     ‘हामी दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिरहेका बेला हुन लागेको रारा म्याराथनलाई परिषदले पूर्ण रुपमा सघाउनेछ,’ सदस्य सचिव सञ्ज्यालले भने । रारामा राष्ट्रिय, अन्तर्राष्ट्रिय धावक र पाहुनाहरुलाई स्वागत गर्न कर्णाली खेलकुद परिषद आतुर रहेको उनले बताए ।

टिप्पणीहरू