पाटन ढोका नजिकै ललितपुर महानगरपालिकाको ‘झकास’ उद्घाटन
आज बिहान ललितपुरको पाटनढोकामा विशेष उद्घाटन कार्यक्रमको तयारी गरिएको छ । महानगर क्षेत्रमा उत्पादित हस्तकला, मूर्तिकला, धातुकलालगायत हस्तकलाका सामान व्यवस्थित तवरले बिक्री गर्न तयार पारिएको कोशेली घर उद्घाटनको प्रक्रिया पूरा भएको बताइएको छ ।
बिहान साढे ९ बजे उद्घाटन गर्न लागिएको उक्त घर सञ्चालनको जिम्मेवारी महानगरपालिकाले लिएको छ । ललितपुरका हस्तकला व्यवसायीहरुले ल्याएको सामान ललितपुर हस्तकला संघको व्यवस्थापनमा बिक्रीको व्यवस्था मिलाइएको छ । त्यसो गर्दा नाफाको ५० प्रतिशत महानगरपालिकाले पाउने नियम बनाइएको छ ।
‘महानगरको यो एउटा पछिल्लो र उदाहरणीय कार्य हो । साथै महत्वाकांक्षी परियोजना पनि हो । ललितपुर बाहेक अन्यत्रको सामान यहाँबाट बिक्री हुँदैन,’ महानगरपालिकाका एक जना पदाधिकारीले भने ।
यसअघि सात दिने सूचना जारी गरेर कोशेली घरमा बिक्रीको निम्ति सामान राख्न इच्छुक व्यवसायीहरुलाई संघले आह्वान गरेको थियो । यसका लागि महानगरले आवश्यक सञ्चालन कार्यविधिसमेत बनाइदिएको छ ।
टिप्पणीहरू