भगवतीलाई चढाइएको बोकाको टाउकोको मूल्य ४ सय, कुखुराको ४०
भक्तजनले बलि दिएका बोका, पाठाको टाउको बागलुङको कालिका भगवती मन्दिरले नै राख्ने गरेको छ । भाकल पूजा गर्न कालिका मन्दिर पुगेका भक्तजनहरु मन्दिरको ‘सिस्टम’ देखेर अचम्मित बनेका हुन् ।
बलि दिइएका बोका, पाठाको टाउको मन्दिरलाई दान गर्नुपर्ने चलन मन्दिरमा छ । भक्तजनले टाउको लैजान पाउँदैनन् । पछि कालिका भगवती गुठी व्यवस्थापन समितिले प्रतिकिलो चार सयको दरले सो टाउको बेच्ने गरेको छ ।
आफैंले टाउको लैजान चाहेमा पनि त्यति नै रकम हालेर किन्नुपर्छ । बोका, पाठाको मात्रै नभई कुखुराको टाउको पनि त्यसरी नै बेच्ने गरिएको छ । समितिले कुुखुराको टाउको प्रतिगोटा ४० रुपैयाँका दरले बेच्दै आएको छ । मन्दिरभित्र यसको व्यापार राम्रोसँग फस्टाएको छ ।
परेवा उडाउनु समितिको पैसा कमाउने अर्को स्रोत रहेको बताइन्छ । साँझपख परेवा समात्ने र भोलिपल्ट दिनभरि उडाउने काम त्यहाँ भएको देखिन्छ । बाहिरबाट परेवा लैजान मनाही छ । समितिले एक जोडी परेवालाई चार सय रुपैयाँमा बेचेपछि भक्तजनले उडाउने गरेका छन् ।
त्यसरी उडाइएको परेवा पुनः समातेर सोही मूल्यमा बिक्री गर्ने व्यापारको चक्र पनि राम्रोसँग फस्टाएको बताइन्छ । यो क्रम विगत नौ वर्षदेखि चल्दै आएको स्थानीय बताउँछन् । पहिले ठेक्कामा दिएर एकमुष्ट रकम लिँदै आएको मन्दिरले अहिले कर्मचारीमार्फत् रकम उठाउँदै आएको समिति अध्यक्ष कुमार खड्काले बताए ।
‘ठेक्कामा दिँदा वार्षिक ४० देखि ४५ लाख रुपैयाँ आम्दानी हुन्थ्यो । कर्मचारी राखेर पैसा उठाउन थालेपछि वार्षिक एक करोडभन्दा बढी आम्दानी मन्दिरले गरिरहेको छ’, उनले भने । समितिले सोचेभन्दा बढी रकम संकलन गर्न थालेपछि उनी मख्ख छन् ।
नेपालकै चर्चित शक्तिपीठको रुपमा परिचित बागलुङ कालिका मन्दिरमा भाकल पूजा गर्न आउनेले भने सो विषयमा असन्तुष्टि जनाएको पाइन्छ । आफैंले चढाएको प्रसाद आफैंले किनेर लैजानुपर्ने भएपछि उनीहरुले मन्दिरको ‘सिस्टम’ चित्तबुझ्दो नभएको बताएका हुन् ।
दर्शन गर्ने नाममा मन्दिरले अचम्मको प्रचलन चलाएको भक्तजनहरुको आरोप छ । हिन्दू मन्दिरमा व्यापारिक उद्देश्यले सःशुल्क पूजा कर्म गर्ने कार्यलाई आलोचनात्मक रुपमा हेर्ने गरिएको छ । भक्तजनको स्वेच्छिक दानबाट प्राप्त हुने सहयोगबाहेक अन्य शुल्क लिन नपाउने माग हुन थालेको छ । यता, केही भक्तजनले मन्दिर व्यवस्थापनको उक्त कार्यलाई ‘हाट बजार’ समेत भन्न थालेका छन् ।
टिप्पणीहरू