‘ब्ल्याकमेलिङ्ग’ बाट जोगिन प्रहरीको आग्रह

‘ब्ल्याकमेलिङ्ग’ बाट जोगिन प्रहरीको आग्रह

सूचना प्रविधिको दुरुपयोग गरेर सामाजिक सञ्जालमार्फत् ब्ल्याकमेलिङ्ग गर्ने क्रम बढेपछि प्रहरीले सञ्जाल प्रयोगकर्ताहरुलाई सतर्क गराएको छ । 

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल प्रयोगकर्ता र आमनागरिकलाई सतर्क रहन भनेको छ । सामाजिक सञ्जालमार्फत अश्लील क्रियाकलापमा संलग्न हुन लगाउने अनि त्यसको भिडियो रेकर्ड गरेर ब्ल्याकमेल गर्ने क्रियाकलाप केही समययता ह्वात्तै बढेको ब्यूरोको भनाइ छ । 

ब्यूरोका अनुसार यस्ता गिरोहले शुरुमा फेसबुक, ह्वाट्सएप, भाइबर, इमो आदिमार्फत सञ्जाल प्रयोगकर्तालाई फ्रेण्ड रिक्वेस्ट पठाएर भिडियो कल गर्छ । त्यसपछि अश्लील क्रियाकलाप देखाएर सम्बन्धित व्यक्तिलाई आफूतिर आकर्षित बनाउने प्रयास गर्छ । गिरोहको झुक्यानमा परेर सञ्जाल प्रयोगकर्ताहरु पनि त्यस्तै अश्लिल क्रियाकलापमा संलग्न हुन्छन्, र त्यसैको भिडियो कल रेकर्ड गरेर बार्गेनिङ शुरु हुन्छ ।   

सार्वजनिक सूचना जारी गर्दै साइबर ब्युरोले गिरोहका सदस्यहरुले त्यस्ता भिडियो सार्वजनिक गर्ने उल्लेख गरेको छ । त्यसपछि पैसा माग्ने गरेको उजुरी पछिल्लो समय बढेको छ । ‘साइबर अपराधमा फसाइदिन्छु, सामाजिक तथा पारिवारिक सम्बन्ध तहसनहस गराइदिन्छु भन्ने किसिमका धाकधम्की दिई बारम्बार रकम माग गर्ने गरेका घटनाहरु पछिल्लो समय धेरै नै बढ्दै गइरहेको देखिन्छ’, ब्युरोको सूचनामा उल्लेख छ । 

सामाजिक सञ्जालको प्रयोग गर्दा अवाञ्छित क्रियाकलापप्रति सजक रहन ब्यूरोले भनेको छ । अपरिचत आईडी र कलहरु यकिन गरेर मात्र संवाद गर्न पनि सूचनामार्फत आग्रह गरिएको छ ।

टिप्पणीहरू