ट्राफिक अनुगमनपछि राजस्व बढ्यो, १५ दरबन्दीमा १२ जनाको काज

ट्राफिक अनुगमनपछि राजस्व बढ्यो, १५ दरबन्दीमा १२ जनाको काज

-राजेशचन्द्र राजभण्डारी

ट्राफिक प्रहरीको सक्रियता बढेपछि बागलुङमा राजस्वसमेत वृद्धि भएको छ । सवारी साधनको संख्या बढेपछि जिल्लामा ट्राफिक प्रहरीले अनुगमनमा सक्रियता बढाउँदै लगेको बताइएको छ । 

ट्राफिकको सक्रियतापछि पछिल्ला महिनामा राजस्व संकलन सामान्य ढंगले बढेको छ । सवारी नियम उल्लंघन गरेका, कागजात चुस्तदुरुस्त नराखी सवारी साधन चलाउने लगायतलाई तीव्र रुपमा कारबाही गर्न थालिएपछि राजस्व वृद्धि भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बागलुङका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु वर्षको चैत मसान्तसम्म ९ प्रतिशतभन्दा बढी राजस्व संकलन भएको छ । 

गत आर्थिक वर्ष २०७८–७९ को असारसम्ममा ६९ लाख ९८ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको थियो । यो चालु वर्षको चैतसम्म ७५ लाख ९१ हजार पाँच सय रुपैयाँ राजस्व उठाउन ट्राफिक सफल भएको हो ।

यो अवधिमा ६ लाख ९३ हजार रुपैयाँ बढी राजस्व संकलन भएको कार्यालयले जनाएको छ । ट्राफिक व्यवस्थापनमा ध्यान दिँदा राजस्व संकलन वृद्धिसँगै सवारी दुर्घटनामा कमी आएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक मीनबहादुर खड्काले बताए । सीमित जनशक्तिका बाबजुद अघिल्लो वर्षको तुलनामा नियमित जाँच, कारबाही र अनुगमन पनि बढाइएको उनले जानकारी दिए ।

ट्राफिक व्यवस्थापनका लागि सचेतना अभियान सञ्चालन गरिएको बताउँदै उनले भने, ‘ट्राफिक नियम पालना नगर्ने र अनियमितता बढ्न थालेपछि हामीले बागलुङ बजारका मुख्य र ग्रामीण क्षेत्रमा ट्राफिक नियमबारे सचेतना अभियान सञ्चालन गरेका छौं । अटेर गर्ने सवारी साधनमाथि कारबाही गर्न थालिएपछि राजस्वमा वृद्धि भएको छ भने दुर्घटनामा पनि कमी आएको छ ।’

ट्राफिक जाँचको क्रममा चालु आर्थिक वर्षको चैतसम्म १० हजार छ सय जना सवारी चालक कारबाहीमा परेका छन् । तीमध्ये कारबाहीमा परेकामा सबैभन्दा धेरै मोटरसाइकल चालक हुन् । यो अवधिमा चार हजार १४२ चालक कारबाहीमा परेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

लाइसेन्स र ब्लुबुकबिना सवारी चलाउने, हेल्मेट नलगाउने कार्य व्यापक हुने गरेपछि ट्राफिक सक्रिय भएको हो । त्यस्तै, दुई पाङ्ग्रे सवारी साधनले धेरै ट्राफिक नियम उल्लंघन गरेको पाइएको छ । ट्रक, रातो प्लेटका पिकअप जीपलगायत सवारी साधनले पनि अत्यधिक ट्राफिक नियम उल्लंघन गरेका छन् ।

गत आर्थिक वर्षको असार मसान्तसम्म ११ हजार ५५० सवारीसाधन कारबाहीमा परेका थिए । ट्राफिक जनचेतना कार्यक्रम गाउँ, विद्यालय र समाजमा पुर्याएपछि सवारी दुर्घटनामा समेत निकै कमी आएको देखिन्छ । गत वर्ष २१ वटा सवारीसाधन दुर्घटनामा परेका थिए ।

 

दुर्घटनामा ११ जनाको मृत्यु र ३५ जना घाइते भएका थिए । यो आर्थिक वर्षको हालसम्म १६ सवारी साधन दुर्घटनामा परेको छ । त्यसमा सात जनाको मृत्यु र २२ जना घाइते भएका छन् ।
जिल्लाका चार वटा नगरपालिका र छ वटा गाउँपालिकामा २७ ट्राफिक प्रहरी खटिएका छन् । तीमध्ये सदरमुकाममा १३ र ग्रामीण क्षेत्रमा १४ जना कार्यरत छन् । १५ जना मात्र दरबन्दी रहेको जिल्लामा थप १२ जना ट्राफिक प्रहरी काजमा आएका हुन् ।
 

टिप्पणीहरू