लिटिल फ्लावरको ठगीधन्दा, बिना अनुमति विद्यार्थी भर्ना

लिटिल फ्लावरको ठगीधन्दा, बिना अनुमति विद्यार्थी भर्ना

भविश्वर पाण्डे

नवलपरासीपूर्वको मध्यविन्दु नगरपालिकामा रहेको लिटिल फ्लावर स्कुलले सञ्चालन अनुमति नलिई विद्यार्थी भर्ना थालेको छ । बिना सञ्चालन अनुमति विद्यालयले नर्सरीदेखि कक्षा १ सम्म भर्ना आह्वान गरेको बताइएको छ ।

निजी शैक्षिक गुठी नेपाल सुक्ष्म पुष्प समाज ललितपुरद्वारा सञ्चालित उक्त स्कुलले मध्यविन्दु–२ सेहरीमा भवन निर्माण गरेको छ । तर, विद्यालय सञ्चालनको निम्ति हालसम्म स्थानीय तह मध्यविन्दु नगरपालिकाबाट अनुमति पाएको छैन ।

नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यालय सञ्चालनको निम्ति कुनै पनि नयाँ निजी विद्यालयलाई अनुमति प्रदान नगरिएको नगरका शिक्षा अधिकृत कृष्णप्रसाद रेग्मीले बताए । मध्यविन्दु–२ मा लिटिल फ्लावर स्कुल सञ्चालनको निम्ति गत शैक्षिक सत्रमा नै अनुमति माग भए पनि हालसम्म अनुमति प्रदान नगरिएको बताइन्छ । चालु शैक्षिक शत्रमा विद्यालय सञ्चालनको निम्ति पुनः निवेदन परेको छ ।

विद्यालय सञ्चालनको मागपछि मध्यविन्दु नगर शिक्षा समितिले सो सम्बन्धमा अध्ययन गर्न नगरपालिकाका सामाजिक विकास समिति संयोजक अर्जुन पंगेनीको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको थियो । समितिले विभिन्न पक्षको अध्ययनपछि विद्यालय सञ्चालनको निीम्त अनुमति प्रदान गर्न आवश्यक नरहेकोे प्रारम्भिक प्रतिवेदन पेश गरेको बताइन्छ । जस अनुसार विद्यालयलाई अनुमति प्रदान कार्य रोकिएको नगर शिक्षा अधिकृत रेग्मीले बताए । यता, लिटिल फ्लावरले भर्ना अभियान थालेको विषयमा आफू जानकार नरहेको उल्लेख गर्दै रेग्मीले विद्यालय सञ्चालन अनुमति नलिई विद्यालय भर्ना अभियान सञ्चालन गर्नु गैरकानुनी हुने उल्लेख गरे ।

चितवन र पर्सामा सञ्चालित उक्त स्कुलकै सञ्चालकले स्थापना गर्न लागेको विद्यालयमा आवरणमा गुठीयारहरु नेपाली देखिए पनि यसका सञ्चालक भारतीय नागरिक रहेको शैक्षिक क्षेत्रका विज्ञहरु बताउँछन् । हाल लिटिल फ्लावर स्कुल सेहरीको प्रिन्सिपलमा समेत भारतीय नागरिक छन् । आफूलाई विद्यालयको प्रिन्सिपल बताउँदै आएका भारतीय नागरिक रोवि केयुले नगरपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति नदिए पनि केही दिनमा अध्यापन थालिने उल्लेख गरे ।

विद्यालय भर्ना अभियान भन्दै हिजोआज मध्यविन्दु–२ का विद्यालयले प्रचारप्रसार थालेको स्थानीय जनतासिद्ध विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामनारायण महतोले बताए । अनुमति नै नपाएको विद्यालयले भर्ना थालेपछि स्थानीय सामुदायिक विद्यालयसमेत प्रभावित हुने उनले चिन्ता व्यक्त गरे ।

नगरपालिकाबाट सञ्चालन अनुमति नपाएपछि विद्यालयले विभिन्न व्यक्ति तथा समूहबाट नगरपालिकामा दबाब दिइएको नगरपालिका स्रोतले बतायो । नगर प्रमुख भीमलाल अधिकारी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरु, शिक्षा अधिकृत कृष्ण रेग्मीलगायत शिक्षा समिति सदस्यहरुमाथि ठूलै  दबाब आएको नगर शिक्षा समितिका एक सदस्यको भनाइ छ । नगरपालिकाको नेतृत्व एमालेका भएकाले प्रमुखसहित कार्यपालिकाका अन्य सदस्यहरुलाई एमाले जिल्लादेखि केन्द्रसम्मका नेताहरुले दबाब दिएको बताइन्छ ।

विद्यालय स्थापनाको विषय नगरपालिकामा आवश्यक छलफलको चरणमा रहेको नगरका मेयर अधिकारीले बताए । अनुमति नै नपाएको विद्यालयले भर्ना शुरु गर्नु नगरपालिकाको शिक्षा ऐन विपरितको कार्य र अभिभावकहरुमाथिको ठगी हुने उनको भनाइ छ । नगरपालिकाले आवश्यकता र औचित्यको आधारमा विद्यालयहरुलाई अनुमति दिने गरेको उनले बताए ।

अर्कोतर्फ उक्त विद्यालय सञ्चालनको अनुमति रोक्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको समेत दबाब देखिन्छ । सबै विद्यार्थीलाई समान र निःशुल्क शिक्षा प्रदान गर्ने दायित्व स्थानीय सरकारको हुने उल्लेख गर्दै ती विद्यालयका प्रधानाध्यापकहरुले कुनैपनि बहानामा विद्यालय सञ्चालनको अनुमति प्रदान नगर्न संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।
 

टिप्पणीहरू