पन्ध्र दिनभित्र माग पूरा नगरे काठमाडौँको फोहोर फ्याँक्न नदिने चेतावनी

पन्ध्र दिनभित्र माग पूरा नगरे काठमाडौँको फोहोर फ्याँक्न नदिने चेतावनी

नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले १५ दिनभित्र आफूहरुले उठाएको माग सम्बोधन नभए काठमाडौँको फोहोर फ्याँक्न नदिने चेतावनी दिएका छन् । 

गत वर्ष बञ्चरेडाँडा र सिसडोलबासीसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै आज संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् । पालिकाका अध्यक्ष सुमन लामा र नगरप्रमुख बालकृष्ण आचार्यले आजको मितिबाट १५ दिनको समय दिएर माग पूरा गर्न भनेका छन् । अन्यथा संघर्ष गर्न बाध्य हुने उनीहरुको चेतावनी छ । 

विज्ञप्तिमा वैकल्पिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोली गठन गरी न्यून प्रभाव पर्ने गरी फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, बञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिब्बडलाई कोल्पुखोलमा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्नेलगायतका माग राखिएको छ  । 

अति प्रभावित, प्रभावित र बेलकोटगढी नगरपालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट दुई किमी क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र मुआब्जाको प्रक्रिया तुरुन्त अगाडि बढाउनुपर्ने पनि संयुक्त विज्ञप्तिमा उल्लेख छ । 

हालसम्म फोहोरमैला व्यवस्थापन गर्ने क्रममा सिसडोल र बञ्चरेडाँडामा के कस्ता प्रकृतिका इीआईए गरियो, कति गरियो ? कार्यान्वयनको अवस्था कस्तो रहेको छ र कुन कुन निकायबाट सो ईआईए गरिएको हो, सोको जानकारी उपलब्ध गराउनुपर्ने पनि जनाइएको छ । 

यसैगरी, ककनी गाउँपालिका, धुनिवेशी नगरपालिकाका वडाहरुमा वार्षिक १० करोड बराबरको शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासमा लगानी गर्नको लागि नेपाल सरकार, काठमाडौँ महानगरपालिका र सरोकारवाला निकायमा बजेट विनियोजना गर्नको लागि माग गर्नुपर्ने पनि भनिएको छ । 

फोहोरमैला व्यवस्थापन गर्ने सन्दर्भमा स्थानीयहरुले आफ्ना मागहरु राख्ने क्रममा आन्दोलन गर्दा विभिन्न झुट्टा मुद्दा लगाई पक्राउ पुर्जी जारी गरिएको हुँदा तत्काल त्यस्ता प्रकृतिका मुद्दाहरु फिर्ता लिई निजहरुको मानव अधिकार संरक्षण गर्नुपर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।
 

टिप्पणीहरू