चौतारामा ‘प्यान’ बिनाको शौचालय, दिसा गरेपछि गन्हाएकाले हटाइएको नगरपालिकाको दाबी

चौतारामा ‘प्यान’ बिनाको शौचालय, दिसा गरेपछि गन्हाएकाले हटाइएको नगरपालिकाको दाबी

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा सार्वजनिक शौचालय बनाउन थालिएको छ । सार्वजनिक शौचालयको आवश्यकतालाई ध्यानमा राखेर चौतारा साँगाचोकगढी नगरपालिकाले बजारको मध्यभागमा रहेको मिलनचोकमा सार्वजनिक शौचालय निर्माण थालेको हो । 

जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गामा निर्माण अघि बढाइएको शौचालयमा पिसाब फेर्ने संरचना मात्रै बनाइएको छ । दिसाका लागि आवश्यक पर्ने ‘ट्वाइलेट प्यान’ भने राखिएको छैन । शौचालय निर्माणको जिम्मा स्थानीय टोल विकास समितिले लिएको छ । नगरपालिकासँगको अनौपचारिक कुराकानीमा समितिका प्राविधिकले शौचालयमा दिसा र पिसाब दुबै गर्न मिल्ने संरचनाको डिजाइन गरिएको बताएका थिए । 

तर, समितिले पछि आफ्नै ढङ्गबाट शौचालय निर्माण गरेकाले उक्त अवस्था आइपरेको भनाइ छ । समितिका अनुसार दिसा गरेपछि नजिकै दुर्गन्ध बढ्ने भएकाले ‘युरिनल’ मात्र राखेर चर्पी निर्माण गरिएको हो ।

 

सार्वजनिक शौचालयमा दिसापिसाब दुवैको सुविधा हुनुपर्ने चौताराका स्थानीय रविन्द्र श्रेष्ठको भनाइ छ । ‘गन्ध आउँछ भनेर सुविधाविहीन शौचालय बनाउन मिल्छ ? त्यसो त शौचालय होइनभ भने अन्य संरचना बनाएर धुप अगरबत्तीको सुगन्धमा बसे भई हाल्यो नि १’, उनले आक्रोश पोख्दै भने । 

सार्वजनिक शौचालयमा ‘ट्वाइलेट प्यान’ नै नराखेपछि अधिकांश युवा रुष्ट देखिन्छन् । बजेट हसुर्नको निम्ति नगरपालिका र समितिको मिलोमतोमा यस्तो काम भएको उनीहरुको आरोप छ । शौचालय सफा गर्न पानीको अभाव देखाउँदै अपुरो संरचना निर्माण गर्न नहुने अर्का युवा सविन श्रेष्ठ बताउँछन् । पिसाबले भन्दा पनि दिसाले बढी समस्या पार्ने हुँदा ‘ट्वाइलेट प्यान’ अति आवश्यक भएको उनको जिकिर छ । उनले दिसा गर्न मिल्ने संरचना निर्माण गर्न नगरपालिकासँग माग गरेका छन् ।

भन्छन्, ‘बजार आएको समयमा कसैलाई दिसा लाग्यो भने कहाँ जाने ? त्यसैले सबै कुराको व्यवस्थापन गरी दुवै सुविधा भएको शौचालय निर्माण गर्नुपर्छ ।’ यता, नगरपालिकाका प्राविधिक कर्मचारी रामहरी नेपाल पानीको अभावमा दिसा गर्न नमिल्ने ट्वाइलेट बनाएको बताउँछन् । निर्माण कार्य सम्पन्न भइनसकेकाले यस विषयमा नगरपालिकामा छलफल गर्ने उनले प्रतिबद्धता जनाए । 

झण्डै एक रोपनी जग्गामा १९ लाख ५० हजार रुपैयाँ खर्च गरेर शौचालय मात्र नभई पार्किङ्ग, तरकारी संकलन केन्द्र पनि निर्माण गरिएको छ । पार्किङ्गमा सर्वसाधारणको भन्दा स्थानीय ठूलाबडाको सवारी साधन २४ सै घण्टा पार्क हुँदै आएको छ ।

टिप्पणीहरू