घर भत्काएको विरोधमा मेयरको गाडी तोडफोड, नगरपालिकामा सुकुम्बासीको लर्को
सिराहाको मिर्चैया नगरपालिका कार्यालयमा तोडफोड भएको छ । नगरपालिकाले सडक विस्तारका लागि घर तथा पसलहरु भत्काएको विरोधमा आन्दोलनकारीको समूहले आज नगरपालिका कार्यालय र मेयर चढ्ने गाडीमा ढुंगामुढा गरेका हुन् ।
झन्डै सात दशकदेखि घर बनाएर बसोबास तथा व्यापार–व्यवसाय गर्दै आएका सुकुम्बासी र व्यापारीहरु नगरपालिकाले घर भत्काइदिएपछि आन्दोलनमा उत्रिएका हुन् । संघर्ष समिति बनाएर आन्दोलनमा होमिएका उनीहरुले आज नगरपालिका घेराउ कार्यक्रम राखेका थिए ।
सोही क्रममा सयौंको संख्यामा रहेका आन्दोलनकारीहरु आफ्ना मागबारे मेयर यादवको जवाफ खोज्दै नगरपालिका कार्यालयभित्र छिर्न खोज्दा प्रहरीले रोकेपछि ढुंगामुढामा उत्रिएका हुन् । मेयर बाहिर ननिस्किएपछि नगरपालिकाभित्र प्रवेश गर्न खोजेका आन्दोलनकारीलाई प्रहरीले रोक्न खोज्दा ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ ।
आक्रोशित स्थानीयले मिर्चैया नगरपालिकाको गेट तोडफोड गर्न थालेपछि प्रहरीले आन्दोलनकारिलाइ तितरबितर पार्न १० सेल अश्रुग्याँस र ७ राउन्ड हवाई फायरिङ गरेका छन् ।
प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा ५ जना प्रहरी घाइते भएको र उनीहरुको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रविन्द्रराज पाण्डेले जनाएका छन् । उनले भने, ‘घाइते प्रहरीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र अहिले अवस्था समान्य छ ।’
मिर्चैया नगरपालिकाले संरचना निर्माण र नगर सुन्दर बनाउने नाममा बजार क्षेत्रका घर भत्काएपछि स्थानीयहरु आक्रोशित भएका छन् ।
टिप्पणीहरू