प्राधिकरणको स्मार्ट मीटरका लागि टेलिकमको थप ई–सिम
नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणको स्मार्ट मीटरमा प्रयोग गर्न थप ई–सिम उपलब्ध गराउने भएको छ । प्राधिकरणको स्मार्ट मीटरमा प्रयोग गर्नका टेलिकमले थप एक लाख ५० हजार थान ई–सिम उपलब्ध गराउन लागेको जानकारी दिएको छ ।
कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युतबाबु घिमिरेबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले प्राधिकरणसँगको व्यावसायिक सहकार्य निरन्तर रहिरहने विश्वास व्यक्त गरेकी छन् ।
त्यस्तै, प्राधिकरणका निर्देशक अच्युतबाबु घिमिरेले आगामी दिनमा नयाँ प्रविधियुक्त ई–सिममार्फत सेवा उपलब्ध हुन लागेकोमा खुशी व्यक्त गरेका छन् । प्राधिकरणले हाल विद्युत महशुलसम्बन्धी जानकारीका लागि स्मार्ट मीटरको प्रयोग गर्दै आएको छ ।
यसले कार्यालयबाटै विद्युत खपतबारे सजिलै जानकारी पाउन, कारबाही गर्न र विद्युत चुहावट नियन्त्रणलगायत कार्य गर्न सहयोग पुर्याउने बताइएको छ । ई–सिमले प्राधिकरणको सिस्टम र स्मार्ट मीटरबीचमा सञ्चार सुविधा उपलब्ध गराउँछ । त्यस्तै, एक सय एम्पियरसम्म क्षमताका थ्री फेज ग्राहकका लागि ई–सिम प्रयोग गरिने कम्पनीले जनाएको छ ।
टेलिकमले प्राधिकरणलाई यस अघि पनि स्मार्ट मीटर प्रयोजनका लागि ५३ हजार थान ई–सिम उपलब्ध गराइसकेको छ ।
टिप्पणीहरू