बारामा अति आवश्यकबाहेक अन्य सेवा ठप्प
जिल्ला प्रशासन कार्यालय, बाराले आजदेखि अति आवश्यकबाहेक अन्य सेवा नदिने भएको छ । आउँदो आइतबार हुने उपनिर्वाचनको तयारीमा कार्यालयका कर्मचारीहरु खटिएपछि प्रशासनले अति आवश्यकबाहेक अन्य सेवा ठप्प पारेको बताइएको छ ।
निर्वाचन तयारी, शान्ति सुरक्षा, विपद व्यवस्थापन र संवेदनशील मुद्दाबोहक अन्य सेवाहरु प्रदान नगरिने बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । त्यस्तै, तीन दिनका लागि विद्यालय बन्द रहने उनले जानकारी दिए ।
बारा निर्वाचन क्षेत्र नम्बर २ मा रहेका विद्यालयमा मतदान केन्द्र तथा मतदानस्थलको व्यवस्था गर्नुपर्ने भएकाले आजदेखि पर्सिसम्म विद्यालय बन्द गरिने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।
भनिएको छ, ‘२०८० वैशाख ८ गतेदेखि २०८० वैशाख १० गतेसम्म तीन दिनका लागि उपनिर्वाचन हुने बारा जिल्ला क्षेत्र नम्बर २ अन्तर्गतका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरुको उपयोग गर्नुपर्ने भएकाले उक्त मतदान केन्द्र रहेका विद्यालयहरु बन्द गर्न अनुरोध गर्ने ।’
त्यस्तै, प्रशासनले उपनिर्वाचनका लागि वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवम् भौतिक संरचना प्रयोग गर्न दिन आग्रहसमेत गरेको छ ।
टिप्पणीहरू