नापीका हाकिम भ्रष्टाचारमा तानिए, कागजमा जग्गाको क्षेत्रफल बढाएको अभियोग

नापीका हाकिम भ्रष्टाचारमा तानिए, कागजमा जग्गाको क्षेत्रफल बढाएको अभियोग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नापी कार्यालय चाबहिलका तत्कालिन प्रमुख नापी अधिकृतमाथि मुद्दा चलाएको छ । 

अधिकृत दुर्गादास महर्जनले विभिन्न व्यक्तिसँगको मिलेमत्तोमा आफूखुशी नक्सामा जग्गा जोड्नुका साथै हुँदै नभएको क्षेत्रफललाई पनि गैरकानूनी तरिकाले कित्ताकाट गरेको भन्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीसहित अन्य आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको अख्तियारले जनाएको छ । 

प्रमुख नापी अधिकृत महर्जन, नापी अधिकृत रविशंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादवले मूलपानी १ ख कित्ता नम्बर ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजातमा अनाधिकृत रुपमा कित्ताहरुको आकारप्रकार परिवर्तन गरी नक्सा सच्याइएको अख्तियारको दाबी छ । 

त्यस्तै, यस कार्यमा मालपोत कार्यालय चाबहिलका तत्कालिन मालपोत अधिकृत विष्णुप्रसाद काफ्ले, नायव सुब्बा उत्तम कुँवर, झापाको कमल गाउँपालिका–२ का योगेन्द्र आचार्य, काठमाडौँको कागेश्वरी मनोहरा–९ का सिताराम अधिकारी र काठमाडौँ महानगरपालिका–९ का नवीन दाहालको पनि संलग्नता रहेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।
 
आयोग प्रवक्ता भोला दाहालका अनुसार आचार्य, अधिकारी र दाहालले आफूलाई आर्थिक लाभ प्राप्त गर्ने उद्देश्यले अनाधिकृत रुपमा कित्ताहरुको आकारप्रकार परिवर्तन गरी टायल चोकबाट क्षेत्रफल बढाएर गलत लिखत पारित गर्न मतियारको रुपमा सहयोग पुर्याएको अनुसन्धानबाट खुलेको छ । 

आठै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम मुख्य कसूरदारलाई हुने सजायसरह सजायको मागदाबी गरिएको छ ।

टिप्पणीहरू