कतारका नेपालीले मंगलबारदेखि उताबाटै श्रम स्वीकृति पाउने
कतारमा रहेको नेपाली राजदूतावासले पुनः श्रम स्वीकृति दिने प्रक्रिया सुचारु गर्ने भएको छ । पर्सिदेखि पुनः श्रम स्वीकृतिको प्रक्रिया सञ्चालन गर्न लागिएको बताइएको छ ।
सरकारले विदेशमा रहेका नेपाली नियोगबाट श्रम स्वीकृति सेवा प्रदान गर्ने निर्णय गरेपछि दूतावासले उक्त व्यवस्थाको निम्ति प्रक्रिया थालेको हो । श्रम स्वीकृतिका लागि दैनिक ५० वटासम्म टोकन वितरण गर्ने योजना बनाइएको छ ।
पुनः श्रम स्वीकृति लिन अनलाइनबाट आवेदन दिनुपर्नेछ । यसका लागि राहदानी, कतारी परिचयपत्र, करार सम्झौता, पूरानो श्रम स्वीकृति, कतार पुगेको मिति प्रष्ट देखिने कागजात अपलोड गर्नुपर्ने जनाइएको छ ।
वैदेशिक रोजगारीमा गएका वा जानेले वैदेशिक रोजगार विभागको वेवसाइटमार्फत् आफ्नो पासपोर्ट वा पासपोर्ट नम्बरको प्रयोग गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रवेश गर्नुपर्छ ।
त्यसपछि ‘श्रम स्वीकृतिका लागि आवेदन’ मा क्लिक गरेर प्रक्रिया अगाडि बढाउन सकिने दूतावासले जानकारी दिएको छ । अनलाइनबाट सबै प्रक्रिया अघि बढाएर अन्तिममा श्रम स्वीकृति दिने ठाउँमा भने दोहा, कतार भनेर छनोट गर्नुपर्छ ।
श्रम स्वीकृतिका लागि तिर्नुपर्ने कल्याणकारी कोष, जीवन बीमा र सामाजिक सुरक्षा कोषको रकम विद्युतीय भुक्तानी प्रणालीबाट तिर्नुपर्ने छ ।
टिप्पणीहरू