आफ्नो ‘ड्रिम प्रोजेक्ट’ मा पानी बगेपछि एमाले अध्यक्ष क्षुब्ध
गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बनाइएको अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रको छानो चुहिनु र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पखाला लाग्नु अचम्मको संयोग भएको छ । लुम्बिनी विकास कोषद्वारा आयोजित बैठकमा सहभागी हुन गत चैत १७ गते लुम्बिनी पुगेका पयर्टनमन्त्री किराँतीलाई पखाला चल्नु र ध्यान केन्द्र चुहिनु संयोगले एकैचोटी भएको बताइन्छ ।
नेपाल पत्रकार महासंघको लुम्बिनी मिडिया सम्मेलनसमेत भएकाले मन्त्री बैठकभन्दा एकदिन अगावै त्यहाँ पुगेका थिए । सो दिन बिहान १० बजेदेखि कालो बादल मडारियो र दिँउसै रात परेझैं अन्धमुष्ठी भयो ।एकछिनमै घनघोरसँग पानी पर्न थाल्यो । निर्माण सम्पन्न भएको एक वर्ष नपुगेको सभाहलभित्र भेल बग्यो । यता, लुम्बिनीको होटल कासाईमा बसेका मन्त्री किराँतीलाई पनि त्यतिबेलै पखाला चल्यो ।
तारन्तारको पखालापछि उभिन नसक्ने भएपछि बेडको सहारा लिनुपरेको थियो । मन्त्री बिरामी भएपछि कोषका अधिकृतहरु डाक्टर बोलाउन व्यस्त भए । क्षणभरमा होटललाई अस्पताल जस्तै बनाइयो । कर्मचारीले डाक्टर खोजेर ल्याए । पाँच वटा स्लाईन पानी चढाएपछि मन्त्री तंग्रिएको उनको उपचारमा संलग्नहरुले बताएका थिए ।
आठ हजार तीन सय वर्गमिटर क्षेत्रफलमा फैलिएको ध्यान केन्द्रमा ४० बढी ठाँउबाट पानी चुहिएको थियो । एउटै व्यक्तिले दुई फर्मबाट ठेक्का मिलाएर निर्माण सकेको सभाहल र ध्यान केन्द्र क्षणभरमा पानीको तलाउ झैँ भयो ।
लुम्बिनी विकास कोषका चल्तापूर्जा योजना प्रबन्धक इञ्जिनियर सरोज भट्टराईले ठेक्काको सबै चाँजोपाँजो मिलाएका हुन् । त्यहाँको सबै सेटिङ्ग मिलाउने प्रमुख योजनाकार नै उनी भएको बताइन्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि मन्त्रालयसम्म राम्रो पहुँच भएकाले त्यसबेला उनले उक्त कार्य तमाम गरेका थिए । सोही कारण ६३ करोड रुपैयाँ लागतमा बनेको हल एक वर्षपनि नटिकेको हो । कमसल काम गरेर सात करोड बचाउन खोज्दाको नतिजा केही समयमै देखिएपछि पर्यटनमन्त्री रिसले आगो भएको अनुमान लगाइएको हो ।
मन्त्रीले तत्काल हल मर्मत गर्न ठेकेदारलाई भन्ने, नमाने कारबाही गर्ने निर्देशन लुम्बिनीकै होटलमा दिएका थिए । हाल हलको प्राविधिक कमजोरीबारे अध्ययन थालिएको बताइन्छ । कोषको बेथिति सुधार्न त्यतिबेला कम्मर कसेर लाग्ने प्रतिबद्धता जनाएका मन्त्री किराँती यतिखेर शान्त भएपछि थुप्रै प्रश्न खडा भएका छन् ।
‘कतै मन्त्रीज्यू पनि प्रबन्धक भट्टराईको प्रभावमा पो पर्नुभयो कि ?’ कोषका कर्मचारीहरुबीच गाईंगुईं चल्न थालेको छ । मन्त्रीको आक्रोश थाहा पाएपछि लगत्तै काठमाडौं आएका उनी दुई सातापछि लुम्बिनी फर्केका थिए । काठमाडौंको उठबसपछि अहिले उनी त्यति हतास नदेखिनुले पनि शंकाको मार्ग प्रशस्त भएको हो ।
कोषलाई राम्रैसँग दुहुनो गाई बनाएको आरोप लागेका उनी हाल तनावमुक्त देखिन्छन् । उक्त हल तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘ड्रिम’ परियोजना रहेको एमालेजनको बुझाइ छ ।
‘आफ्नो सपनाको परियोजनामा पानी बगाइदिएपछि कुन नेता आक्रोशित हुँदैन ?’ एमालेका एक जना स्थानीय नेताले भने । २०७४ सालमा बुद्धजयन्तीका दिन हावाहुरी र झरीले कार्यक्रमस्थल भत्काएपछि उहाँले नयाँ बनाउने घोषणा गर्नुभएको थियो । २०७५ वैशाख १७ गते तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले सभाहलको शिलान्यास् गर्नुभयो । हरेक पटक लुम्बिनी जाँदा अध्यक्ष ओलीले निकै चासो लिँदै हलको अवलोकन गर्नुभएको बताइन्छ । पहिलो चरणको कामको ठेक्का अर्घाखाँचीको बाबुल जेभीले २८ करोड १३ लाख रुपैयाँमा लिएको थियो ।
त्यस्तै, सोही जेभीले ३४ करोड ९५ लाखमा दोस्रो चरणको ठेक्का हात पारेको थियो । पाँच हजार जना अटाउने छाता शैलीको ध्यान केन्द्रको छाना गर्मीमा चिसो र चिसोमा तातो हुने प्रविधिको रहेको बताइएको थियो ।
कम्तिमा ६ देखि ८ डिग्री सेल्सियससम्म तापक्रम तलमाथि गर्न सकिने इपिएस प्यानल चीनबाट आयात गरिएको हो । छत साउण्ड प्रुफ र असिनापानीमा समेत आवाज नआउने खालको भएको दाबी गरिएको छ ।
तर, ११ महिनामै छत काम नलाग्ने भएपछि स्थानीयले कोषका पदाधिकारीहरुले ठूलो भ्रष्टाचार गरेको आरोप लगाएका छन् । निर्माणको नाममा कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, सदस्य सचिव सानुराजा शाक्य, इञ्जिनियर अफजल खाँ र सरोज भट्टराईले राम्रैसँग गोजी भरेको भन्नेहरुको संख्या कम देखिँदैन ।
टिप्पणीहरू