डाक्टर अभावमा प्राकृतिक चिकित्सा अस्पताल आफैँ बिरामी

डाक्टर अभावमा प्राकृतिक चिकित्सा अस्पताल आफैँ बिरामी

 आशिका लम्साल

विषादीको प्रयोग, प्रदुषित वातावरण, जलवायु परिवर्तन, बढदो शहरीकरण र चरम विलासिताले मानिसलाई रोगी बनाइरहेको छ । एलोपेथिक (आधुनिक औषधि र चिकित्सा) को महँगो उपचार र सेवनबाट दिक्क भएकाहरु हिजोआज प्राकृतिक उपचारतर्फ आकर्षित भएका छन् । त्यसैले विश्वभर प्राकृतिक अस्पताल खुल्ने क्रम बढेको छ । 

भारतलगायत विभिन्न मुलुकमा प्राकृतिक उपचारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय धेरै छन् । तर, नेपालमा यसको अध्यापन गराउने संस्था हालसम्म स्थापना भएको छैन । अस्पतालकी सचिव नमिता न्यौपाने दक्ष जनशक्तिको अभावका कारण सोचेअनुरुप सेवा दिन नसकेको गुनासो गर्छिन् । अस्पताल नै बन्द गर्नुपरेको स्थिति आउँदाको अनुभवसमेत उनीसँग छ ।  

संघ र प्रदेश सरकारले विश्वविद्यालयहरुमा यसको अध्यापन शुरु गराउनुपर्नेमा उनको जोड छ । भन्छिन्, ‘सहज, सस्तो र सबैका लागि भरपर्दो उपचार हो प्राकृतिक चिकित्सा । तर, दक्ष जनशक्तिको साह्रै अभाव छ । जनशक्ति उत्पादनमा सरकारले चासो नै दिएको छैन ।’

उनका अनुसार एउटा १० शैयाको प्राकृतिक अस्पताल पूर्ण रुपमा सञ्चालन गर्न एक जना नेचुरोप्याथी चिकित्सक, एक जना थेरापिष्ट, दुई जना पुरुष र दुई जना महिला मसाजरको आवश्यकता पर्दछ । त्यस्तै, अनुभवप्राप्त सहयोगी पनि चाहिन्छ । 

प्रशासन र सफाईकर्मीका साथै भान्सामा कुक, हेल्पर र डिसवासर गरेर कूल ३० जना जनशक्ति भएपछि मात्र एउटा अस्पताल सञ्चालन गर्न सकिने उनको अनुभव छ । अन्य कर्मचारी सहजै पाइए पनि प्रमुख जनशक्ति चिकित्सककै अभाव छ ।  

आमनागरिकले नबुझेको प्राकृतिक चिकित्सा

प्राकृतिक चिकित्सा विज्ञ डा. जनक बस्नेतका अनुसार यसबारे सर्वसाधारणले अझै राम्ररी बुझ्न सकेका छैनन् । आमनागरिकले यसलाई योगाको रुपमा बुझेको उनको भनाइ छ । 

यद्यपि, यो योगामा मात्र सीमित छैन । एलोपेथिक औषधि खाएझैँ यसले तत्काल असर देखाउँदैन । लामो समयपछि मात्रै यसको फाइदा हुने बस्नेतको भनाइ छ । यसको उपचार तुलनात्मक रुपमा दीर्घकालसम्म हुने गरेको उनी बताउँछन् । यसले रोग निको पार्ने मात्र नभई रोग नै लाग्न नदिने उनको दाबी छ । उनले भने, ‘जबसम्म यसबारे राम्ररी बुझ्न सकिन्न तबसम्म निरोगी समाज बन्न सक्दैन ।’

ओम वेलनेसको स्थापनामा चार जना

विराटनगरका चार जना महिलाले ओम वेलनेस प्राकृतिक अस्पताल सञ्चालनमा ल्याएका हुन् । अञ्जु उपाध्याय, नमिता न्यौपाने, राधा ढकाल र बिना कार्कीले साझेदारीमा दुई करोड रुपैयाँ लगानी गरेर अस्पताल खोलेका हुन् । अस्पताल खोल्नेबित्तिकै कोरोना महामारी देखापर्यो ।

झण्डै डेढ वर्ष अस्पताल पनि बन्द भयो । बल्लतल्ल खुलेको अस्पताल हिजोआज चलायमान हुन थालेपछि सञ्चालिकाहरु खुशी देखिएका छन् । उपचार गराउनेको संख्या बढ्न थालेपछि १० शैयाको अस्पताललाई २५ शैयाको बनाइएको छ ।
 

टिप्पणीहरू