चार वर्षदेखि पारिश्रमिक नपाएपछि मजदुरद्वारा पुल बन्द

चार वर्षदेखि पारिश्रमिक नपाएपछि मजदुरद्वारा पुल बन्द

दार्चुलाको दुहुँ गाउँपालिकामा झोलुङ्गे पुल निर्माणमा संलग्न श्रमिकहरुले चार वर्षदेखि ज्याला नपाएपछि पुल नै बन्द गरिदिएका छन् । 

जिल्लाको दुहुँ गाउँपालिका २ र ५ नम्बर वडा जोड्ने झोलुङ्गे पुल निर्माण गर्ने क्रममा संलग्न स्थानीय मजदुरले ४ वर्षदेखि ज्याला नपाएपछि पुल बन्द गरेका हुन् । गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर बडालले ठेकेदार सम्पर्कविहीन हुँदा श्रमिकहरुले ज्याला नपाएको जानकारी दिए । 

उनले ज्यालाको माग गर्दै मजदुरहरुले हिजो पुल नै बन्द गरेको बताउँदै ठेकेदारलाई सम्पर्कमा ल्याउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निवेदन दिएको जनाए । 

उनले भने, ‘पुल निर्माण हुँदादेखि मजदुरले तलब पाएका रहेनछन् । ज्याला नपाएपछि हिजो मात्रै उनीहरुले पुल बन्द गरे ।’ ‘मैले पनि पालिकामा निर्वाचित भएर आएको १० महिनापछि यो कुरा थाहा पाएको हुँ,’ उनले थपे, ‘सुरुमा त ठेकेदारलाई सम्पर्कमा ल्यायौं पनि । साथै, मजदुरलाई उनीहरुको ज्याला दिनेसमेत सम्झौता भएको थियो । तर, अहिले ठेकेदार सम्पर्कविहीन भएको छ ।’ 

उनी भन्छन्, ‘हामीले पटक पटक ठेकेदारसँग सम्पर्क गर्न खोजिसक्यौ । तर हालसम्म ठेकेदार सम्पर्कमा आएको छैन । त्यसैले, हिजो मात्र ठेकेदारलाई सम्पर्कमा ल्याउन प्रशासनमा निवेदन दिएका छौँ ।’ 

गाउँपालिकाको दुई करोड १० लाख लागतमा तीन सय ९० मीटर लम्बाई भएको उक्त पुलको निर्माण कार्य जगदम्बा दोभान कन्स्ट्रक्सनको जिम्मेवारीमा वि.सं. २०७६ मा सुरु भएको थियो ।  

२ वर्षभित्र पुल निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएकोमा हालसम्म पनि लोड टेस्टलगायतको काम बाँकी नै रहेको छ । पुलमा केही संरचनाको प्राविधिक परीक्षणमा त्रुटिसमेत भेटिएको र पुलको छेउतिरको एक लठ्ठासमेत खुस्किएको अध्यक्ष नरेन्द्रबहादुर बडालले बताए । 

पालिकाले ठेकेदारलाई ४० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । तर, पुलको प्राविधिक परीक्षणमा त्रुटि भेटिएको छ । हामीले पुलको कार्य सम्पन्न भएपछि त्यो रकम पनि भुक्तानी गर्ने भनेका छौँ । तर, अहिले ठेकेदार नै सम्पर्कविहीन भएको उनको भनाइ छ ।

टिप्पणीहरू