विरोधपछि रोकियो सामुदायिक वनमा संरचना निर्माणको काम

विरोधपछि रोकियो सामुदायिक वनमा संरचना निर्माणको काम

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित कमेरे सामुदायिक वन क्षेत्रमा भएको अन्धाधुन्द उत्खननमा डिभिजन वन कार्यालयले रोक लगाएको छ । 

नीलकण्ठ नगरपालिकाले तीन तले पार्क निर्माण गर्ने बहानामा प्राकृतिक श्रोत र सम्पदाको अनाधिकृत प्रयोग गरेको भन्दै चौतर्फी विरोध र गुनासो आएपछि वन कार्यालयले हिजो दिउँसोबाट कमेरे सामुदायिक वन क्षेत्रको तीनतलेमा भइरहेको सबै गतिविधिमा रोक लगाएको हो । 

वन कार्यालयमा पनि काम गर्ने कुनै किसिमको जानकारी नभएकोले तत्कालका लागि काम गर्न रोक लगाएर उपभोक्ता समिति र ठेकेदार कम्पनीसँग आवश्यक कागजपत्र माग गरिएको नीलकण्ठ शव डिभिजन वन कार्यालयका वन अधिकृत प्रदिपनाथ शर्माले बताए । 

तीनतले भीरको मुनी बागमती प्रदेश सरकारको पर्यटन विकास आयोजनाको ८० लाख रुपैयाँ बजेटमा उपभोक्ता समितिमार्फत पार्क निर्माणको काम सुरु भएको छ भने त्यहीसँगै नीलकण्ठेश्वर मन्दिर निर्माण र सिँढी निर्माणको लागि भन्दै ९० लाखको टेन्डरमार्फत काम सुरु गरेको छ । तर,आइईई समेत नगरेको, वन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिसँग समन्वय नगरी कानूनी प्रकृया समेत पुरा नगरी बलमिचाईकै भरमा काम गरेर प्राकृतिक श्रोतको दोहन र ढुंगा निकासी भएको भन्दै स्थानीयले विरोध गरेका छन् । 

बागमती प्रदेशको पर्यटन विकास आयोजनामा सम्झौता गरेर अहिले पार्क निर्माणको लागि जग्गा सम्याउन मेसिनरी वाल र तारजाली लगाउने काम सुरु गरेको भएपनि इस्टमेट समेत गुपचुप राखेर जनप्रतिनिधि र उपभोक्ता समितिको सेटिङमा कमाउ धन्दा चलाउन लागेको उपभोक्ताहरुको आरोप छ । 

तीनतले पार्क निर्माण उपभोक्ता समितिले भने आफूहरुले सबै प्रकृया पुरा गरेर पर्यटन विकास आयोजनाबाट सम्झौता गरी काम सुरु गरेको दावी गर्दै आएको छ । पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष केशवराज थपलिया भन्छन्–‘पार्क बनाउने स्थान सम्याउन जाली र वाल लगाउने काम सुरु भएको छ, ढुंगा तस्करी गर्यो भन्ने कुरा विकास विरोधीहरुले भ्रम फैलाइदिएको हो । एक टिप ढुंगा पनि बाहिर लगेको छैन ।’  पार्क निर्माणको इस्टमेट कस्तो छ ? आइईई भएको छ कि छैन ? भन्ने प्रश्नमा भने उनले प्रष्ट जवाफ दिएनन् । ‘पार्क बन्ने हो,इस्टमेट म सँग छैन,इन्जिनियरहरुलाई सोध्नुपर्छ,’ उनले भने ।

 

सामान्य तया सामुदायिक वनभित्र स्थायी संरचना निर्माण गर्न पाईदैन । बनाउन परे डिभिजन बन कार्यालयसँग समन्वय गरी कार्ययोजना स्वीकृत गराएर अस्थाई प्रकृतिका संरचना निर्माण गर्न सकिने प्रावधान छ । तर, त्यस्ता काम गर्दा ठूला मेसिनको प्रयोग गर्न पाईदैन । वन ऐनअनुसार वन क्षेत्रबाट चट्टान, ढुङ्गा,कोइलाखानी, माटो, बालुवा आदि निकाल्न वा ओसारपसार गर्न पाइँदैन । 

पर्यटन विकास आयोजनाले पनि पार्क निर्माण हुने क्षेत्र सामुदायिक वन क्षेत्रको परिसरभित्र पर्ने हो भने सम्बन्धित डिभिजन वन कार्यालय सँग सहमति प्राप्त गरेर मात्रै सम्झौताबमोजिमका क्रियाकलापहरु कार्यान्वयन गर्न उपभोक्ता समितिलाई अनुरोध गरेको छ । पार्क बन्ने स्थान कमेरे सामुदायिक वन क्षेत्रको परिसरमा पर्छ भन्ने मौखिक जानकारी आयोजनामा प्राप्त हुन आएकोले सम्बन्धित निकायहरुसँग समन्वय गरेर मात्रै काम गर्न आयोजना प्रमुख रोशनकुमार श्रीवास्तवद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

टिप्पणीहरू