महावीरले अनुसन्धानलाई थप उचाइमा पुर्याउने
अनुसन्धानकर्ता महावीर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई उच्च प्राथमिकता दिनुपर्ने माग अगाडि सारेका छन् । संघीय र प्रदेश सरकारसमक्ष चार बुँदे माग राख्दै उनले अनुसन्धान, नवप्रवर्तन तथा आविष्कारमा संलग्न प्रतिभाशाली र सृजनशील नागरिकहरुलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
उनले विकास बजेटको १ प्रतिशत रकम अनुसन्धानका लागि छुट्याएर ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ मा राख्न सुझाव दिएका छन् । उक्त कोषमा जम्मा भएको रकम सोही वर्ष खर्च नभएमा आगामी वर्षहरुमा पनि खर्च गर्न पाउने व्यवस्था गरिनुपर्ने उनको जिकिर छ ।
त्यस्तै, सो रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नवीनतम सोच भएका नागरिकलाई उपलब्ध गराउनुपर्ने र नेपाल सरकारको सार्वजनिक खरिद ऐनभन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवद्र्धन सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने अनुसन्धानकर्ता पुनको भनाइ छ ।
नवउद्यमी बन्न चाहने नेपालीलाई चाहिने अनुमति, लाइसेन्स र सहज ऋण उपलब्ध गराउन भनिएको छ । स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्नुपर्ने माग उनको छ ।
विश्वविद्यालयहरुमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन र प्रवद्र्धनका लागि ‘व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग’ खोल्नुपर्नेमा उनले जोड दिएका छ । त्यसैगरी, मुलुकको प्रतिभा विदेश पलायन हुन नदिन र पलायन भइसकेकालाई स्वदेश फर्काउनुपर्ने पुनको धारणा छ ।
टिप्पणीहरू