महोत्तरीमा दर्जन हवाई फायर, त्यत्तिकै अश्रुग्यास

महोत्तरीमा दर्जन हवाई फायर, त्यत्तिकै अश्रुग्यास

महोत्तरीमा नौ राउण्ड हवाई फायर गरिएको छ । गौशाला नगरपालिका–४, मल्हनीया पोखरीमा प्रदर्शनकारी उग्र बनेपछि हवाई फायर र अश्रुग्यास प्रहार गरिएको बताइएको छ ।

परिस्थितिलाई नियन्त्रणमा लिन उक्त संख्यामा हवाई फायर र अश्रुग्यास प्रहार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गौशालाले पनि प्रदर्शनकारीहरु उग्र बनेपछि बल प्रयोग गर्नुपरेको जानकारी दिएको छ ।

स्थानीय २५ वर्षीया आरतीदेवीको शंकास्पद मृत्युपछि गाउँले उग्र बनेका हुन् । आरतीका माइती पक्षकाले उनका श्रीमान उमेश साह, नन्द आशालगायतले मिलेर हत्या गरेको आरोप लगाएपछि अवस्था गम्भीर बनेको हो । आक्रोशित भीडले हत्या आरोपी उमेश साहको घर तोडफोड गर्न खोजेपछि प्रहरीले रोकेको थियो । सोही निहुँमा उनीहरु उग्र बनेका हुन् ।

प्रदर्शनकारीहरुले मृतकका सासु, नन्द, जेठाजुलगायलाई पक्रेर घटना छानबिन गर्नुपर्ने माग राखेका छन् । उनीहरुले टायर बालेर सडक अवरुद्ध बनाएको बताइन्छ ।

टिप्पणीहरू