आमा र छोराको मनमुटावपछि पत्रकारहरुको बिचल्ली
विगत २२ वर्षदेखि प्रकाशन हुँदै आएको राजधानी दैनिकमा यतिखेर गम्भीर संकट देखिएको छ । म्यानपावर व्यवसायी महेन्द्र शेरचनको लगानीमा सञ्चालित राजधानीका अध्यक्ष र सञ्चालक समिति सदस्यबीच मनमुटाव बढेपछि असहज अवस्था उत्पन्न भएको बताइन्छ ।
डेढ वर्षअघि भदौमा कोरोना संक्रमणका कारण संस्थापक अध्यक्ष महेन्द्रको निधनपछि अहिले कम्पनीको सञ्चालक समितिमा उनका श्रीमती, छोराछोरी गरेर पाँच जना छन् । महेन्द्रकी श्रीमती नन्दा शेरचन अध्यक्ष हुन् भने छोरा आशिष र छोरीसहित पाँच सदस्य सञ्चालक समितिमा छन् । नन्दा र आशिष सौतेलो आमा छोरा हुन् । उनीहरुको सम्बन्ध सुमधुर छैन । महेन्द्रको निधनपछि नन्दाले पत्रिका बन्द गर्ने प्रस्ताव राखेको बताइन्छ ।
तर आशिषले आफू सिइओ बनेर पत्रिका चलाउने प्रस्ताव राखे । काम गरेको एक वर्ष नबित्दै उनले सिईओबाट राजीनामा दिएका छन् । आशिषले सञ्चालक समितिमा छलफलै नगरी सुटुक्क राजीनामा दिएर हिँडेपछि गत कात्तिकदेखि कर्मचारीले तलब समेत पाएका छैनन् ।
१७ जना श्रमजीवी पत्रकार र कर्मचारीले तलब पाउनुपर्ने माग राख्दै श्रम अदालत गुहारेका छन् । नन्दा र आशिष नाताले आमाछोरा भए पनि उनीहरुको पारिवारिक सम्बन्ध क्रमशः खराब हुँदै गएको त्यहाँका कर्मचारीहरु बताउँछन् । आमा छोराबीच कुराकानी गर्नसमेत वकिललाई साक्षी राख्नुपर्ने अवस्था उत्पन्न भएको छ । त्यसैले उनीहरुले छुट्टाछुट्टै वकिल राखेका छन् ।
सम्पत्तिको लफडा
राजधानी न्युज पब्लिकेशनको नाममा अहिले चाबहिलमा ३० आना जग्गा छ । शेरचन परिवार पत्रिका चलाउनेभन्दा पनि सम्पत्ति बाँडफाँडको तयारीमा लागेको छ । सम्पत्ति बाँडफाँडमा आमा छोराबीच कुराकानी भए पनि सहमति नजुटेपछि दुवैले कानुनी सल्लाह लिएको बताइन्छ ।
पत्रिकाको नाममा भएका जग्गा बिक्री गरेर अंशबण्डा गर्नेसम्म कुरा नमिलेपछि अहिले दुवै जना अदालत जाने तयारीमा छन् । उनीहरु निकटस्थ वकिलले पनि त्यही सल्लाह दिएका हुन् । रमाइलो पक्ष के भने वर्षौंदेखि राजधानीसँग जोडिएका पत्रकारले तलब पाएका छैनन् । तर, उनीहरुले मोटो पारिश्रमिक दिएर वकिल भने पालेकै छन् ।
निकम्मा प्रशासन
राजधानी सबैभन्दा कमजोर प्रशासन भएको मिडिया हाउसको रुपमा चिनिन थालेको पीडित कर्मचारी र पत्रकारहरुले बताए । प्रशासनमा काम गर्नेलाई कम्पनीका आन्तरिक कुराहरु गोप्य राख्नुपर्छ भन्नेसमेत थाहा नभएको दाबी गरिएको छ । कम्पनीको ब्यालेन्स सीटसमेत पत्रकारको हातमा पुगेको छ । कसको तलब कति छ ? प्रशासनलाई भन्दा पहिले उनीहरुलाई जानकारी हुन थालेको हो ।
मालिकलाई खुसी बनाउने बहानामा प्रशासन प्रमुखले कर्मचारीलाई अनावश्यक तनाव दिन थालेको उनीहरुको भनाइ छ । सोही कारण बहुसंख्यक पत्रकार, कर्मचारी कानुनबमोजिमको सुविधा लिएर बाहिरिने योजनामा पुगेका हुन् ।
पत्रकारको सेवासुविधा कटौती गर्नुपर्छ भन्ने प्रशासन शाखाका कर्मचारीले कागज, मसी, कम्प्युटरलगायत अन्य सामग्री खरिद गर्दा कमिशन खाने गरेको आरोप धेरै अघिदेखि लाग्दै आएको छ । बजारमा ९० हजार पर्ने कम्प्युटर राजधानीले १ लाख २० हजारमा किन्ने गरेको तर कर्मचारीलाई तलब नदिएको बताइन्छ । अध्यक्षले हिसाब हेरौंभन्दा ‘भ्याएको छैन’ भन्दै प्रशासनका कर्मचारीले टार्ने गरेपछि अरुले आशंका गरेका हुन् ।
अन्य बिजनेसमा पनि असर
पत्रिका बन्द हुने हल्ला बजारमा पुगेपछि अहिले राजधानीका मार्केटिङ विभागका कर्मचारीले बजारबाट उठ्नुपर्ने पैसासमेत उठाउन सकेका छैनन् । कतिपय व्यापारिक घरानासँग शेरचन परिवारको खराब सम्बन्ध रहेकाले पत्रिका बन्द भएपछि अन्य व्यापार व्यवसायमा समेत असर पर्ने देखिएको छ ।
शेरचन परिवारको लगानीमा अहिले त्रिपुरेश्वरमा साउदी मेडिकल सेन्टर सञ्चालित छ । जहाँ वैदेशिक रोजगारमा जाने श्रमिकहरुको स्वास्थ्य चेकजाँच गरिन्छ । आशिषले पोखरामा पार्टनरसिपमा होटल पनि सञ्चालन गरेका छन् ।
साउदी मेडिकलले कानुनी रुपमा केही त्रुटीहरु गर्दै आए पनि मिडियाकै प्रभावका कारण सञ्चालनमा छ । पत्रिका बन्द भएमा अन्य कम्पनीसमेत बन्द हुने निश्चित छ । अध्यक्षको एकल निर्णयमा सिईओ भएर भित्रिएका डोलेन्द्र थापा अहिले शेरचन परिवारका विभिन्न कम्पनीको कमीकमजोरी खोज्नमा व्यस्त रहेको अर्को पक्षको आरोप छ ।
टिप्पणीहरू