तत्कालिन उद्योग सचिवले भने, ‘मेरा विरुद्धको समाचार तथ्यहीन’
बाग्मती प्रदेशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तत्कालिन सचिव विश्वबाबु पुडासैनीले जनआस्था साप्ताहिकमा पुस २० गते ‘कसैलाई नपरुन् मनपरी गर्ने हाकिम’ शीर्षकमा प्रकाशित समाचार तथ्यहीन र झुठो भएको बताएका छन् । सचिव पुडासैनीले यथेष्ट प्रमाणबिना एकोहोरो र सम्बन्धित पक्षको भनाई नराखी आरोपसहित सामग्री सम्प्रेषित गरिएको दाबी गरेका हुन् ।
उनले पठाएको खण्डनमा तथ्यहीन झुठो समाचार प्रकाशन गरेको र अनाधिकृत रुपमा आफ्नो फोटोसमेत समाचारमा राखिएको रोष व्यक्त गरेका छन् । मन्त्रालयअन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय, चितवनमा दरबन्दी रही वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडामा काज रहेका अधिकृत कर्मचारी गणेश राउतले भनेका कुरालाई आधार बनाएर प्रकाशित समाचारमा कुनै सत्यता नरहेको उनको ठोकुवा छ ।
समाचारमा उल्लेख भएअनुसार गणेश आफ्नो प्रत्यक्ष मातहतमा नरहेको उनको जिकिर हो । उनलाई फोन गरेर आफूले केही पनि नभनेको र उनको सरुवा प्रचलित नियमभित्रै रहेर गरिएको पुडासैनीको भनाई छ । कसैले भनेको आधारमा सम्बन्धित पक्षसँग नबुझी आफ्नो चरित्रहत्या गर्ने समाचारको शीर्षक राखेकोभन्दै उनले आपत्ति जनाएका हुन् ।
राउतले घरेलु तथा साना उद्योग कार्यालय चितवनमा र ललितपुरमा छँदा कुनै पनि जिम्मेवारी पूरा नगरेको विषय कार्यालय प्रमुखबाट प्राप्त भएको उनको खण्डनमा उल्लेख छ । ‘सबै कर्मचारीले हस्ताक्षरसहित उनीविरुद्ध उजुरी गरेकाले लगातार आफ्नो फोटो राखेर समाचार बनाउने कार्य गलत भयो,’ उनले लेखेका छन् ।
टिप्पणीहरू