अनुमति नलिएका बालगृहलाई कारबाही गरिने
राष्ट्रिय बाल अधिकार परिषद्ले बालगृह वा बाल संस्था सञ्चालनका लागि अनिवार्य अनुमति लिनुपर्ने जनाएको छ । परिषद्ले अनुमतिका लागि आउँदो जेठ ४ गतेभित्र आवेदन गर्न सकिने बताएको छ ।
परिषद्ले आज पुनः सूचना जारी गर्दै मुलुकभर सञ्चालनमा रहेका बालगृह वा संस्थालाई तोकिएको समयावधिभित्र अनुमति लिन सुसूचित गराएको छ । बालगृहहरुको नियमावलीको नियम ५९ (१घ) र नियम ६२(३) तथा अनुसूची–१ बमोजिमको ढाँचामा आवेदन दिनुपर्ने परिषद्ले जनाएको छ ।
बालबालिकासम्बन्धी नियमावली, २०७८ को नियम ६२ (४) बमोजिमको योग्यता, नियम ६४ (१) तथा अनुसूची–४ बमोजिम बालगृहले पूरा गर्नुपर्ने न्यूनतम मापदण्ड र बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ को दफा ३ देखि दफा १८ सम्मका आवश्यक मापदण्ड पूरा गरेका बालगृहलाई मात्रै अनुमति दिइने परिषद्ले स्पष्ट पारेको छ ।
त्यस्तै, अनुमति नलिई बालगृह सञ्चालन गर्नेलाई कारबाही गर्ने चेतावनी पनि दिइएको छ । परिषद्ले गत पुस २१ गते सूचना जारी गर्दै अनुमतिका लागि आवेदन दिन आह्वान गरेको थियो । तर, आवेदनप्राप्त नभएपछि आज पुनः सूचना जारी गरिएको हो ।
टिप्पणीहरू