विकासको यात्रामा निस्किए संखुवानन्कारकट्टीका प्रमुख
-सन्तोष बराइली
अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेको सूर्य चिन्हबाट निर्वाचित केदार यादवले पछिल्लो पटक पनि जीत हासिल गर्लान् भनेर कसैले सोचेका थिएनन् । एमाले विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका उनी दोस्रोपटक पनि निर्वाचित भए । कलम चिन्हबाट चुनावमा उठेका उनले जित्लान् भनेर कसैले आकलन समेत गरेका थिएनन् ।
यद्यपि, उनको विजयले सबैलाई आश्चर्यचकित बनाइदियो । पहिलो कार्यकालमा गरेको विकास र निर्माण काम प्रत्यक्ष देखेका उनी मतदाताको रोजाइमा नपर्ने कुरै भएन । सिरहाको संखुवानन्कारकट्टी गाउँपालिकामा दोस्रो पटक निर्वाचित यादवलाई स्थानीयले विकासप्रेमी जनप्रतिनिधि भन्न थालेका छन् ।
उनी दलित, गरिब–दुःखी, निमुखा, शोषित र पछाडि पारिएकाहरुको आवाज बनेका छन् । विद्यार्थी जीवनदेखि नै कम्युनिष्ट आन्दोलनमा होमिएका यादव विद्रोही स्वभावका छन् । समतामूलक समाज उनको परिकल्पना रहेको बताउँछन् । आफ्नो लक्ष्य नै संखुवानन्कारकट्टीको समग्र विकास उनको मन्त्र छ ।
पहिलो कार्यकालमा उनले सुधारका धेरै कामहरु गरेका छन् । जसलाई स्थानीयले अनुभवसमेत गर्न पाएका छन् । ‘बालबालिका देशका कर्णधार’ भन्ने नारा लगाएर विद्यार्थी भर्नाको अभियान चलाए ।
विद्यालय र शैक्षिकस्तर खँस्किदै गएको गुनासो बढेपछि उनी आफैं शिक्षक बने । आफैंले विद्यार्थीहरुलाई पढाए । बालबालिकालाई स्कुल नपठाउने अभिभावकलाई जरिवानाको व्यवस्था गरे । बालबालिका केन्द्रित पोषण कार्यक्रम ल्याए । निःशुल्क स्वास्थ्य शिविर चलाउन परिपाटी विकास गरिदिए ।
गाउँपालिकाभित्रका हरेक धुलाम्मे सडकमा कतै कालोपत्रे, कतै ढलान र कतै ग्राबेल बिछ्याउने काम अहोरात्र गरिरहे । जनता आवास कार्यक्रमअन्तर्गत अति विपन्न दलित समुदायलाई ३० वटा एक तल्ले पक्की घर बनाइदिएको उनी आफैँ बताउँछन् ।
दलित समुदाय केन्द्रित भन्दै सामूहिक नगदे बालीमा स्थानीयलाई प्रोत्साहन गरिरहे । यसको निम्ति गाउँपालिकाले करिब ९ बिघा जग्गा भाडामा लिएर ६० घर परिवारलाई नगदे बालीमा आबद्ध गराएको छ । यसबाट आफूहरुको गर्जो टार्न सहज भएको स्थानीयको भनाइ छ ।
कृषिलाई आधुनिकीकरण गर्न किसानहरूसँग हातेमालो गरिरहेका उनी संखुवानन्कारकट्टीलाई पर्यटन क्षेत्रको रूपमा विकास गर्न पनि अघि सरेका छन् । पर्यटन विकासका लागि उनले आफ्नो पहिलो कार्यकालमै पार्क बनाउने योजना पारित गराएका थिए ।
अहिले महेशपुर चोक नजिकै पश्चिम दिशामा आकर्षक डिजाइनको पार्क निर्माणधीन अवस्थामा छ । गाउँमै १० शैयाको अस्पताल बनाउन पालिकाबाट बजेट विनियोजन गरिएको छ । आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गरेका उनलाई संखुवानन्कारकट्टीका स्थानीयले दोस्रो पटक नेतृत्वमा चुनेका हुन् ।
तर, यतिबेला उनी विरोधीहरुको षडयन्त्रको घेराबन्दीमा पर्न थालेका छन् । यादवले शुरु गरेका हरेक विकास निर्माणका कार्यमा विरोधीहरुले अवरोध सिर्जना गर्न थालेका हुन् । असफल बनाउन विरोधीहरूले आफूविरूद्व अदालतमा उजुरी र मुद्दा हालेको प्रमुख बताउँछन् । ‘मुद्दा मात्रै हालेका छैनन्, झुठो विवरणहरू खडा गरेर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा अनगिन्ती उजुरी ठेलेका छन्,’ यादवले भने ।
आफूविरुद्ध कदम चालिए पनि उनी हतोत्साहित देखिएका छैनन् । भन्छन्, ‘नजानेर एकाध गल्ती भएका होलान् । जानाजान त्यस्तो ठूलो गल्ती गरेको छैन । त्यसैले मलाई डर छैन ।’ विकासको यात्रामा निस्किएका उनी कुनै पनि हालतमा नरोकिने दाबी गर्छन् ।
कृषि हब बनाउने चाहना
कृषि क्षेत्रको विकास नभएसम्म नेपाल र नेपालीको जीवनस्तर उकास्न नसक्ने यथार्थलाई बुझेका उनी संखुवानन्कारकट्टी क्षेत्रलाई कृषि हब बनाउन चाहन्छन् । गाउँपालिका पाँच वटै वडामा कृषि सडक बनाउने उनको इच्छा र योजना छ ।
विद्युत, वैकल्पिक सिचाइँ, निःशुल्क बिऊबिजन, जैविक मलको सहज व्यवस्थापन पनि योजनामा समावेश छ । किसानको उत्पादन गाउँपालिकाले नै खरिद गरेर ठूला शहरमा बिक्रीवितरण गर्ने योजनाहरु उनले गाउँपालिकाको साधारण सभाबाट पारित गराइसकेका छन् ।
तर, ती योजनाहरुले मूर्त रुप लिन सकिरहेका छैनन् । विरोधीहरु उनको विकासको बाटोमा अवरोध बनेकाले त्यसो भएको बताइन्छ । पाँचमध्ये दुई वटा वडामा समाजवादी अर्थात उनी पक्षधरले जितेको छ भने उपमेयरसहित २ वटा वडामा नेपाली काँग्रेसले जीत हासिल गरेको छ । एउटा वडा जनता समाजवादी पार्टीको पोल्टामा परेको हो ।
जसपाको समर्थन पाएको हुनाले यहाँ कांग्रेस बहुमतमा छ, समाजवादीले पालिका प्रमुख जिते पनि अल्पमतमा देखिन्छ । विरोधीहरूले खेतबारीको बीचबाट सडक बनाउँदा जग्गा घट्ने, विद्युतको तार खेतबारी माथिबाट लैजाँदा जग्गाको उचित मूल्य नपाइने, बैंकले धितो राख्न नमान्नेलगायतका विषय उठाएर काममा बाधा पुर्याएको यादवको भनाइ छ ।
गाउँपालिका प्रमुख भन्छन्, ‘मैले हार खाएको छैन । कृषि विकासमा मैले अघि सारेका योजनाहरु कार्यान्वयन गरेरै छोड्छु ।’ उनले गाउँ कार्यपालिकाको सुविधासम्पन्न भवन निर्माण गर्ने सोच पनि बनाएका छन् । त्यो योजना समेत कार्यान्वयनमा ल्याए तर विरोधीहरुले अदालतमा मुद्दा हालेर रोक्ने कोशिस गरेका छन् ।
‘मेरा विरोधीहरु मेरो पालोमा भवन नबनोस् भन्ने चाहन्छन् । उक्त भवनको शिलालेखमा मेरो नाम नलेखियोस् भन्ने उनीहरुको दाउ छ । मैले मेरो नामका लागि होइन्, सिरहाका लागि नमूना भवन खोजेको हुँ । मेरा विरोधी मित्रहरुले यो किन बुझ्न सक्नुभएको छैन्, थाहा भएन,’ उनले भने ।
टिप्पणीहरू