अटेरी गर्ने ठेकेदारलाई सरकारको एक हप्ते पूर्जी
ठेक्का ओगटेर निर्धारित समयमा काम नगर्ने ९ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले सात दिने स्पष्टीकरण सोधेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिबद्धताबमोजिम काम नगर्ने ती निर्माणकर्तालाई सात दिनको समय तोकेर लिखित स्पष्टीकरण दिन भनेको हो । अन्यथा कालोसूचीमा राख्ने कार्यालयको चेतावनी छ ।
स्पष्टीकरण मागिएका निर्माण कम्पनीमा श्री नताशा निर्माण सेवा, श्री त्रिशक्ति कन्स्ट्रक्सन प्रालि, श्री आज्ञा एण्ड कम्पनी प्रालि, श्री थाक ठिनी इन्जिनियरिङ्ग एण्ड कन्स्ट्रक्सन प्रालि, श्री एचडी इन्टरप्राइजेज हुन् ।
त्यस्तै, श्री त्रिजोन कन्स्ट्रक्सन, श्री युमन निर्माण सेवा प्रालि, श्री पीवी एण्ड एस इन्जिनियरिङ्ग कन्सल्ट्रेन्सी एन्ड कन्स्ट्रक्सन र श्री गणपति कन्स्ट्रक्सनलाई पनि कार्यालयले स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।
कार्यालयले आज सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘उक्त निर्माण व्यवसायीलाई यसअघि पनि लिखित स्पष्टीकरण बुझाउन ३० दिनको समयावधि दिएको तर ३० दिन बित्दासमेत स्पष्टीकरण नबुझाएकाले थप सात दिनको समयावधि दिइएको छ ।’
तोकिएको समयावधिभित्र लिखित स्पष्टीकरण नबुझाए ती निर्माण व्यवसायीलाई कानूनबमोजिम कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने कार्यालयको चेतावनी छ ।
टिप्पणीहरू