जागिर 'कन्फर्म' भएका सात जना नियुक्तिपत्र बुझ्न नआएपछि विद्युत प्राधिकरणको सार्वजनिक सूचना
नेपाल विद्युत प्राधिकरणको स्थायी सेवामा नियुक्तिका लागि सिफारिस भएका सात जनालाई नियुक्तिपत्र बुझ्न बोलाइएको छ । आज सूचना प्रकाशित गर्दै प्राधिकरणले तोकिएको समयावधिभित्र नियुक्तिपत्र लिन नआएको भन्दै थप १५ दिनको समय दिएको छ । उक्त समयभित्र नियुक्ति पत्र बुझिसक्न सूचनामा भनिएको छ ।
प्राधिकरणका अनुसार प्रशासकीय अधिकृत पदका विश्व अर्याल, इन्जिनियर राजेन्द्र मानन्धर र अनिलकुमार पछाई, सुपरभाइजर शंकर पौडेल, मिटर रिडिङ सुपरभाइजर किरणकुमारी बोहोरा र कृष्णटेव पंडित र लेखापाल लखन भट्टले नियुक्तिपत्र लिएका छैनन् । त्यसैले, उनीहरुलाई १५ दिनभित्र नियुक्तिपत्र लिन आउन तथा नियुक्त गरिएको कार्यालयमा हाजिर हुन प्राधिकरणले सूचित गराएको छ ।
सूचनामा भनिएको छ, ‘नेपाल विद्युत प्राधिकरणको स्थायी सेवामा नियुक्तिका लागि सिफारिस भएका तपसिल बमोजिमका उम्मेदवारहरुले नेपाल विद्युत प्राधिकरण, कर्मचारी सेवा, सर्त विनियमावली २०७५ (संशोधनसहित) मा तोकिएको अवधिभित्र नियुक्तिपत्र लिन नआएको हुँदा सोही विनियमावलीको विनियम ३४ (२) बमोजिम यो सूचना प्रकाशित भएको मितिले पन्ध्र दिनभित्र नियुक्तिपत्र लिन आउन तथा नियुक्त गरिएको कार्यालयमा हाजिर हुन सूचित गरिन्छ ।’
टिप्पणीहरू