विकट क्षेत्रमा फस्टाउँदै होमस्टे, जनशक्ति अभाव मुख्य समस्या
कोशी प्रदेशको विकट पहाडी जिल्ला भोजपुरमा पर्छ पर्यटकीय महत्व बोकेको टेम्केमैयुम गाउँपालिका । सोही गाउँपालिकाको वडा नम्बर २ छिनामुखीको श्यामशिलामा राई दम्पतीले सञ्चालन गरेको सुविधासम्पन्न गोठेसिँह होमस्टे छ ।
डाँडाकाँडाले भरिएको विकट ठाउँ प्रकाश राई र समीक्षा राईले दुई करोड रुपैयाँ लगानी गरेर होमस्टे खोलेका हुन् । तीन वर्षदेखि सञ्चालनमा रहेको होमस्टेमा बाह्रैमास पर्यटकको ओइरो हुन्छ ।
उजाड मानिएको ठाउँमा बसेर राई दम्पतीले पैसा कमाइरहेका छन् । उक्त होमस्टेको आफ्नै विशेषता देखिन्छ । कटेजसहित १३ वटा कोठा रहेको होमस्टेमा ३० जना आरामले बास बस्न सक्छन् ।
बिहान बेलुकी खाना खान आउने ग्राहकको भीड पनि उत्तिकै छ । होमस्टेमा एक रात बसेको शुल्क एक हजार तोकिएको छ । त्यस्तै, सादा खानाको २५० र मासुसहित खानाको ४०० रुपैयाँ तोकिएको छ ।
होमस्टे सञ्चालक भन्छन्, ‘हामी अर्गानिक खाना मात्र खुवाउँछौं ।’ उनीहरुले आफैंले बारीमा फलाएको खाद्यान्न पस्किने गरेका छन् । आफ्नो उत्पादन नपुगे मात्रै स्थानीय बजारबाट ल्याउने गरिएको छ । होमस्टेको अर्गानिक तोङ्वा र चिण्डो निकै ‘फेमस’ भएको छ । लोकल रक्सीलाई झानेर विभिन्न ‘ककटेल’ बनाउने गरिएकाले पाहुनाको रोजाईमा गोठेसिँह होमस्टे परेको हो ।
होमस्टेमा ‘सिलप्याक’ रक्सी बिक्री वितरण नगरिने बताइन्छ । स्थानीय खाना नै त्यहाँको प्रमुख आकर्षण हो । सोही कारण होमस्टे सञ्चालक राई दम्पतीलाई पाहुनाको सेवामा भ्याइनभ्याइ छ ।
उनीहरुले चाडबाड, वर्षा र जाडो भन्न पाएका छैनन् । दशैंतिहारमा सबैभन्दा धेरै भीड हुने राई दम्पतीको भनाइ छ । मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएपछि स्थापना गरिएको होमस्टेले छोटो अवधिमै निकै चर्चा बटुलेको हो । त्यसअघि गाईगोठ सञ्चालन गर्दै आएकाले उनीहरुले नाम नै गोठेसिंह होमस्टे राखेका हुन् ।
उनीहरुको पुर्खाले उक्त खर्कमा सबैभन्दा ठूलो गोठ सञ्चालन गरेका थिए । बाजेको ठूलो गोठ भएकाले सबैले गोठेसिंह भन्ने गरेको प्रकाश बताउँछन् । इतिहासलाई झल्काइराख्न सोही नाम राखिएको उनीहरुको जिकिर छ ।
आफूले आँट गरेरै अनकन्टार ठाउँमा होमस्टे खोल्ने सोच बनाएको विगत उनी सुनाउँछन् । तर, आफ्नो लगानी खेर नगएकोमा उनी निकै हर्षित छन् । अति रमणीय टेम्केडाँडा र चखेवा क्षेत्र घुम्ने अनि मुन्धुम पदमार्गमा भ्रमण गर्ने पर्यटकको संख्या केही समययता ह्वात्तै बढेको छ ।
हिजोआज आन्तरिक र वाह्य पर्यटक मात्र नभएर विभिन्न संघसंस्थाका कार्यक्रम पनि सो क्षेत्रमा आयोजना गर्ने गरिएको छ ।
दम्पतीलाई जनशक्ति अभावको चिन्ता
आफ्नो व्यवसाय फस्टाएको देख्दा राई दम्पती निकै खुसी छन् । तर, उनीहरुलाई जनशक्तिको अभावले पिरोल्ने गरेको छ । एकछिन विश्राम लिन पाउँदैनन्, उनीहरु ।
अपेक्षाअनुसार सेवा दिन नसकेको उनीहरुको गुनासो छ । पहाडी इलाकाका पर्यटनहरु त्यहाँ भ्रमणका लागि आउने गरेका छन् । यद्यपि, त्यहाँ दक्ष जनशक्तिको चरम अभाव छ । गाउँमा युवाहरु छैनन्
महिला, बालबालिका र वृद्धवृद्धाले गाउँघर धानेका छन् । जनशक्ति नहुँदा राई दम्पती रातदिन नभनिकन खटिएको बताउँछन् । त्योसँगै उनीहरुले आफ्नो छोराछोरी र ७० वर्षीया वृद्ध आमालाई समेत काममा खटाएका छन् ।
गाउँमै मनग्गे पैसा फल्न थाले पनि सबैजसो शहर केन्द्रित बनेकोमा राई दम्पती दुःखेसो पोख्छन् । भन्छन्, ‘पहाडमा मज्जाले पैसा फल्न थालेको छ । तर, के गर्नु काम गर्ने मान्छे नै पाइँदैन । बाहिरबाट ल्याए पनि धेरै बेर टिक्दैनन् ।’
टिप्पणीहरू