आमरण अनशनकारीको जीवन रक्षा गरियोस् : मानव अधिकार आयोग
राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेको जीवन रक्षा गर्न माग गरेको छ ।
बैशाख ५ गतेदेखि काठमाडौंको भूगोलपार्कमा कृषक परिचय पत्रको व्यवस्था, न्यूनतम ब्याजदरमा ऋण उपलब्ध, मल, बीऊ, विषादी कृषियन्त्र अनुदानमा उपलब्ध गराउनुपर्ने मागसहित किसान श्रीराम घिमिरे आमरण अनशनमा बसेका छन् ।
आयोगका सहसचिव एवम् प्रवक्ता टीकाराम पोखरेलका अनुसार किसान श्रीराम घिमिरेको स्वास्थ्य अवस्थाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । घिमिरेको स्वास्थ्य परीक्षणमा उनको शरीरमा ग्लुकोज र अक्सिजनको मात्रा कम भई स्वास्थ्य अवस्था जटिल बन्दै गएको अनुगमनबाट पाइएको जनाइएको छ ।
त्यसैले वार्ताको माध्यमबाट तत्काल समस्या समाधान गर्न माग गर्दै आयोगले किसानको अधिकारका सम्बन्धमा आयोगबाट विगतमा गरिएका सिफारिसहरु कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ ।
‘नेपालको संविधानको धारा १६ ले नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हकको उल्लेख गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगले २०७५ सालमा किसानको अधिकारसम्बन्धी कानूनहरुको पुनरावलोकन तथा अध्ययन प्रतिवेदन तयारी गरी सरकारलाई १५ बुँदे सिफारिससमेत गरेको आयोग स्मरण गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
अनशनरत श्रीराम घिमिरेको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई जीवनको अधिकारको रक्षा गर्न, सार्थक वार्ताको माध्यमबाट तत्काल समस्याको समाधान गर्न, किसानको अधिकारका सम्बन्धमा आयोगबाट विगतमा गरिएका सिफारिसहरुको कार्यान्वयन हुन आयोगले सरकारलाई आग्रह गरेको हो ।
टिप्पणीहरू